जनकपुर उपमहानगरपालिका कुर्था २१ स्थित वडा कार्यालयमा जनप्रतिनिधिहरुले नै तालाबन्दी गरेका छन् । वडाध्यक्ष रामेश्वर महासेठको काम कारवाहीप्रति असन्तुष्टी जनाउँदै बुधवार तीन सदस्यले वडा कार्यालयमा तालाबन्दी गरेका हुन् ।
वडा सदस्यहरु महेन्द्र महतो, बैद्यनाथ पण्डित र ककुन्ती देवी महराले स्थानीय नागरिककको सहयोगमा कार्यालयमा तालाबन्दी गरे । वडा सदस्य महतोले हरहिसाब सार्वजनिक नगरेको, योजना छनौटमा मनोमानी गरेको र सडक निर्माणमा काखापाखा गरेको आरोप लगाए । पटक पटक हरहिसाब सार्वजनिक गर्न र सडक निर्माण नक्सा अनुसार गर्न भनेपनि वडाध्यक्षले वेवास्ता गरेको उनको भनाई छ ।
वडाध्यक्ष महासेठले नातेदारलाई उपभोक्ता समिति बनाएर योजना सञ्चालन गरिरहेको पनि उनको आरोप छ ।
वडा सदस्यले १२ बुदे माग राख्दै कार्यालयमा तालाबन्दी गरेका छन् । यसअघि सदस्यहरुले उपमहानगरपालिकाको कार्यालय र जिल्ला प्रशासन कार्यालय धनुषामासमेत निवदेन दार्ता गराएका थिए । तर, नगर प्रमूख लालकिसोर साह र धनुषाका सिडिओले चासो नलिएपछि बाध्य भएर वडा कार्यालयमा तालाबन्दी गरेको उनीहरु बताउँछन् ।
वडा स्तरीय अनुगमन समिति चयन गर्नुपर्ने, वडामा कुनै काम हुँदा अनिवार्य वडा सदस्यको उपस्थिति हुनुपर्ने, योजना तर्जुमा स्थानीय र वडा सदस्यको सल्लाहमा हुनपर्ने, आय–व्यय सार्वजनिक गर्नुपर्ने र विकास निर्माणको काममा होर्डिङ बोर्ड लगाउनुपर्ने लगायत १२ बुंदे माग वडा सदस्यहरुको छ ।
‘सडक निर्माणमा काखापाखा’
वडा सदस्य बैद्यनाथ पण्डितका अनुसार वडाध्यक्षकले सडक निर्माणमा आफ्नो भाई नरेश महासेठको घर बचाउन सार्वजनिक जग्गा मिचेका छन् । ‘नापी हुँदा सात फिट नरेशको घर भत्किन्छ भनियो । तर, वडाध्यक्ष महासेठले सार्वजनिक कुट्टीको जग्गा मिचेर आफ्ना भाइको घर बचाएँ’, उनले भने, ‘नक्सा विपरीत वडाध्यक्षले बल प्रयोग गरेर सडक बनाउने प्रयास गरेका छन् । भोटको हिसाबले व्यक्तिगत रिसइबीका कारण कसैको घर, सार्वजनिक इनार र कुट्टी भत्काउने कार्य गरेका छन् ।’
कुर्थास्थित बनौझिया टोलमा क्षेत्रीय सडक निर्माण भइरहेको छ । १३ फिटबाट सडक ३३ फिट निर्माण हुँदै छ । स्थानीयका अनुसार मिडिल प्वाइन्ट कायम गरेर दश÷दश फिट दुबै पट्टिबाट लिनु पर्ने थियो । तर, वडाध्यक्षले आफ्नो भाईको घर बचाउने कुट्टीको जमिण मिचेको छ । वडाध्यक्षको भाई नरेश महासेठको घर सात फिट भत्किनु पर्ने स्थानीयको माग छ । यसयघि वडाध्यक्षले आफ्नो नातेदारको घर बचाउन विद्यालय भत्काएका थिए ।