चिनियाँ मोबाइल कम्पनीविरुद्ध अमेरिकामा मुद्दा, दुई देशबीच तनाव चर्किने सम्भावना

अमेरिकाको न्यायमन्त्रालयले चिनियाँ दूरसञ्चार कम्पनी ह्वावेई र उसकी मुख्य वित्तीय अधिकारी मङ वान्जूविरुद्ध मुद्दा दायर गरेको छ।

विश्वको दोस्रो ठूलो स्मार्ट्फोन निर्माता कम्पनी ह्वावेईले ब्याङ्कमा ठगी गरेको,
न्यायमा वाधा उत्पन्न गरेको र अमेरिकी कम्पनी टी मोबाइलबाट प्रविधि चोरेको
दाबी गरिएको छ। 

मङ वान्जूलाई गत महिना अमेरिकाको अनुरोधमा छिमेकी देश क्यानडाको भ्यान्कुभरको विमानस्थलबाट नियन्त्रणमा लिइएको थियो।

उनलाई इरानमाथि अमेरिकाले लगाएको प्रतिबन्ध उल्लङ्घन गरेको आरोप पनि लगाइएको छ।

तनाव बढ्दै

इरानसँग व्यापार गर्न ह्वावेईले उनका दुई सहायक कम्पनीहरू ह्वावेई डिभाइस यूएस र स्काइकम टेकसँगको आफ्नो सम्बन्धबारे अमेरिका र विश्व ब्याङ्कलाई ढाँटेको भन्ने अभियोग ह्वावेईमाथि लागेको छ। 

सन् २०१५ को परमाणु सम्झौतापछि हटेको इरानमाथिको प्रतिबन्ध राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले हालै अरू कडा शर्तहरूसहित पुनः लागु गरेको छ। 

ह्वावेईका संस्थापककी छोरी वान्जूलाई  क्यानाडामा नियन्त्रणमा लिएयता चीन, क्यानडा र अमेरिकाबीचको अन्तर्देशीय सम्बन्ध झन् तनावपूर्ण बनेको छ।

मङ र ह्वावेई कम्पनी दुवैले आफूमाथिका आरोपहरू अस्वीकार गर्दै आएका छन्।

वाशिङ्टनस्थित बीबीसीकी रजनी वैद्यनाथन भन्छिन्, “ह्वावेईविरुद्ध दुई प्रकारका मुद्दा लगाइएका छन्। पहिलो मुद्दामा ह्वावेईविरुद्ध गोप्य व्यापारिक सूत्रहरू
चोरेको आरोप लगाइएको छ। दोस्रोमा चाहिँ ह्वावेईले इरानविरुद्ध लगाइएको
अमेरिकी प्रतिबन्धविपरीत काम गरेको अभियोग लगाइएको छ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here