काठमाडौँ । कोरोना भाइरस संक्रमणबाट महोत्तरीमा दुई जनाको मृत्यु भएको छ । महोत्तरीमा मंगलबार दुई कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्लाको मनरा सिस्वा नगरपालिका–३ का ७५ बर्षीय बृद्ध र बलवा नगरपालिका–३ का ७७ बर्षीय बृद्धको मृत्यु भएको हो । मनरा सिस्वाका बृद्धको जलेश्वर अस्पतालमा मंगलबार विहान साढे ११ बजे मृत्यु भएको हो ।
प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालका अनुसार केही दिनअघि मात्रै चितवनको क्यान्सर अस्पतालमा उपचार गरेर फर्किएका वृद्धलाई चितवनमै हुँदा कोरोना संक्रमण पुष्टि भएको थियो । उपचारबाट फर्किएका बृद्ध पोजेटिभ भएको जानकारी आएपछि उनलाई आइसोलेसनमा राख्न अस्पताल ल्याएको केहीबेरमै मृत्यु भएको हो । यस्तै बलबा नगरपालिकाका ७७ वर्षीय बृद्धको जनकपुरधामको प्रादेशिक अस्पतालमा उपचारको क्रममा मंगलबार विहान साढे ११ बजे नै मृत्यु भएको हो । उनी सोमबार साँझ प्रादेशिक अस्पतालमा भर्ना भएका थिए ।
‘निमोनियाबाट ग्रसित बृद्धको अवस्था सोमबारै गम्भीर थियो, उनलाई तत्कालै भेन्टिलेटरमा राखेर उपचार गरे पनि मृत्यु भयो’ प्रादेशिक अस्पताल कोभिड– १९ संयोजक डा. जामुन सिंहले भने । प्रादेशिक अस्पतालमा पुग्नुअघि ती वृद्धको जनकपुरधामको विभिन्न अस्पतालमा उपचार गराएको पाइएको सिंहले बताए । जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका प्रमुख नागेन्द्र चौधरीका अनुसार बलवाका वृद्धको जनकपुरधामस्थित जानकी हेल्थ केयरमा चार दिनअघि स्वाब संकलन गरिएको थियो र रिपोर्ट पोजेटिभ आएको थियो । योसँगै महोत्तरीमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या चार पुगेको छ ।