सवारी चलाइरहँदा मोबाइल फोन प्रयोग गर्ने सवारी चालकको लाइसेन्समा प्वाल पारिने भएको छ । सवारी दुर्घटनाका विविध कारणमध्ये चालकले गाडी चलाइरहँदा मोबाइल प्रयोग गर्नु पनि एक रहेको ठहर गरी यस्तो व्यवस्था लागू गर्न लागिएको हो ।
सोमवार संघीय संसदको प्रतिनिधि सभाअन्तर्गतको विकास तथा प्रविधि समितिमा सडक दुर्घटना न्यूनीकरण र सडक सुरक्षा विषयमा छलफल भएको थियो । छलफलमा बोल्ने सांसदहरूले सडक दुर्घटनाका कारणहरूमध्ये चालकले गाडी चलाइरहँदा मोबाइल प्रयोग गर्नु पनि एक रहेको दावी गरे । सांसदहरूले उठाएका विषयहरूलाई सम्बोधन गर्ने क्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले यस्तो अवस्थामा चालकको लाइसेन्स प्वाल पारिदिने व्यवस्था लागू गर्ने बताए ।
छलफलमा चालकका समस्यामा ध्यान नदिनाले पनि दुर्घटना हुने विषय उठेको थियो । सांसद गौरीशंकर चौधरीले सवारी दुर्घटना हुनुमा चालकले लामो दूरीमा एकोहोरो गाडी चलाउनु पर्ने बाध्यता पनि एक रहेको बताए । त्यसैले निश्चित दूरीपछि ‘रिफ्रेस सेन्टर’को व्यवस्था गरिनु पर्ने उनले सुझाव दिए ।
त्यसैगरी, सांसद रमेश पहाडीले लामो दूरीको यात्रामा वैकल्पिक चालकको व्यवस्था गर्नुपर्ने ऐनमा उल्लेख भएपनि कार्यान्वयन नभएको विषय उठाए । यसले गर्दा सवारी चालक थाक्ने, निदाउने जस्ता अवस्था आई दुर्घटना हुने उनको जिकिर थियो । सफ्टवेयरका माध्यमबाट वैकल्पिक सवारी चालकको व्यवस्था भए÷नभएको परीक्षण गर्ने प्रावधान केही समयभित्रै लागू गरिने ट्राफिक प्रहरीका प्रहरी वरिष्ट उपरीक्षक वसन्तकुमार पन्तले जानकारी दिए । कुनै पनि सवारी चालकको लाइसेन्समा पाँच ओटा प्वाल परेपछि छ महीनाका लागि लाइसेन्स रद्द गर्न आपूmहरूलाई निर्देशन आइसकेको समेत उनले जानकारी दिए ।