जुम्ला अस्पतालमा अक्सिजन उत्पादन शुरु

माघ १५, काठमाडौं । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (जुम्ला अस्पताल)ले जिल्लामा पहिलो पटक अक्सिजन उत्पादन शुरु गरेको छ । प्रतिष्ठानले आफ्नै कारखानाबाट अस्पताललाई आवश्यक पर्ने अक्सिजन उत्पादन शुरु गरेसँगै अक्सिजनको अभावमा अब जुम्ला अस्पतालबाट सुर्खेत, नेपालगञ्ज/काठमाडौं बिरामी पठाइनुपर्ने अवस्था अन्त्य भएको छ ।

प्रतिष्ठानले पछिल्लो समय चिकित्सा शिक्षा र सेवाका लागि जुम्लामा गरेको कामलाई अति महत्वपूर्ण उपलब्धि मानिएको छ । यसअघि प्रतिष्ठानले रक्त सञ्चार सेवा केन्द्र, आधुनिक चिकित्सा विज्ञानलाई आवश्यक पर्ने सबै प्रयोगशाला तथा सघन उपचार कक्ष सञ्चालनमा ल्याइसकेको छ । अति आवश्यक पर्ने सिटीस्क्यान उपकरण जडान अन्तिम चरणमा रहेको प्रतिष्ठानले जानकारी दिएको छ ।

कर्णाली प्रदेशमा नै गत वर्षदेखि सुर्खेत क्षेत्रीय अस्पतालले अक्सिजन उत्पादन गर्न थालेको थियो । दम, फोक्सो, छाती तथा शल्यक्रियाका बिरामीका लागि अक्सिजन अति आवश्यक हुन्छ । विश्व स्वास्थ्य संगठनको एक अध्ययनका अनुसार फोक्सो, छाती तथा दमका रोगी कर्णाली प्रदेशमा धेरै छन् ।

प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले करीब रू. २ करोड २३ लाखको लागतमा अक्सिजन प्लान्टका उपकरण स्थापना गरी गत आइतवारदेखि अक्सिजन उत्पादन शुरु गरिएको जानकारी दिए । ३०० शैय्याको जुम्ला अस्पताललाई आवश्यक पर्ने र माग भईआएमा थप अक्सिजन उत्पादन गर्न सकिने प्रतिष्ठानका प्रशासकीय अधिकृत अमृत भण्डारीले बताए । उनले भने, ‘‘हाम्रो प्लान्टको उत्पादन क्षमता ८० सिलिण्डरसम्म छ ।’ अहिले अस्पतालमा दैनिक १०/१२ सिलिण्डर अक्सिजन खपत हुन्छ । एक सिलिण्डरमा १२० लिटर अक्सिजन हुन्छ ।

प्लान्टबाट उत्पादित अक्सिजन पाइपका माध्यमबाट सीधै शैय्यासम्म पुर्‍याउने व्यवस्था अस्पताले मिलाएको छ । कर्णाली प्रदेशमा सम्भवतः यस किसिमको प्रबन्ध पहिलो पटक गरिएको हो । प्रतिष्ठान चिकित्सा शिक्षाअन्तर्गत एमबीबीएस तथा एमजीडीपी तहका कक्षा सञ्चालनको अन्तिम तयारीमा जुटेको छ । जुम्ला अस्पताललाई कर्णाली प्रदेशकै केन्द्रीय विशेषज्ञ अस्पतालमा रुपान्तरणसमेत गरिँदैछ ।

प्रतिष्ठानका उपकुलपति प्रा.डा. राजेन्द्र वाग्ले चिकित्सा शिक्षा र सेवाका लागि भौतिक पूर्वाधार, उपकरण तथा जनशक्ति तीनै क्षेत्रमा प्रतिष्ठान बनाउनेतर्फ बढिरहेको बताउँछन् । ‘अस्पतालमा विशेष गरी चिसोबाट उत्पन्न हुने छातीरोग, दमरोग, फोक्सोका रोगी धेरै सेवा लिन आउने गर्दछन् । आफ्नै प्लान्टबाट अक्सिजन उत्पादनले ती बिरामी तथा शल्यक्रिया गरेका बिरामीलाई ठूलो सहयोग पुग्छ ।’ उनले भने ।

अक्सिजन उत्पादन शुरु भएसँगै जतिसुकै जटिल प्रकारका बिरामीको शल्यक्रिया गर्न सहज हुने भएको छ । अस्पताल निर्देशक धर्मराज गोसाईंले भने, ‘पहिला नेपालगञ्जबाट ल्याउँदा अस्पतालमा अक्सिजनको चरम अभाव हुने स्थिति आउन सक्थ्यो तर अब बिरामीलाई अक्सिजन अभाव नहुने भएको छ ।’

दैनिक ५० सिलिण्डरसम्म अस्पतालमा अक्सिजन आपूर्तिका साथै आठदेखि १० सिलिण्डर भर्न सकिने प्लान्ट अस्पतालमा जोडिएको छ । उपकरण जोड्न भारतको कानपुरदेखि आएका सञ्जीव कुमारका अनुसार प्लान्टबाट उत्पादित अक्सिजन नजीकैको जिल्लामा रहेका अस्पतालसम्म पठाउन सकिन्छ । उपकरण बिग्रेको र बिजुली आपूर्ति नभएको समयबाहेक अरु बेला नियमित अक्सिजन उत्पादन गर्न सकिने उनले बताए । अहिले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा अक्सिजनका ८० सिलिण्डर छन् । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here