काठमाडौं । आन्दोलनमा रहेका अधिकांश सरकारी चिकित्सकहरू बिदामा बसेका छन् । समायोजन प्रक्रियाको विरोधमा आन्दोलनरत उनीहरूले आफूहरूको दरबन्दी संघअन्तर्गत राख्नुपर्ने मुख्य मागमा सरकार सकारात्मक नदेखिएपछि बिदामा बसेका हुन् ।
ठूलो संख्यामा चिकित्सकहरू बिदामा बस्दा सरकारी अस्पतालको नियमित सेवामा भने प्रभाव परेको छ । वीर अस्पताल र ट्रमा सेन्टरका सरकारी चिकित्सकहरू बिदामा हुँदा समस्या भएको अस्पताल निर्देशक बताउँछन् । धेरै चिकित्सकहरू बिदामा हुँदा बिरामीलाई राम्रो सेवा दिन नसकेको निर्देशक डा. भुपेन्द्र बस्नेतले जानकारी दिए । छात्रबृत्ति र करारका चिकित्सकबाट सेवा दिइएको छ । यता ट्रमाका निमित्त निर्देशक डा. विनोद शेरचनका अनुसार अधिकांश सरकारी चिकित्सक विदामा बसेको भन्दै सेवा सञ्चालनमा कठिनाई भएको बताए ।
यस्तै कान्ति बाल अस्पतालमा पनि सरकारी चिकित्सकहरू विदामा बसेका छन् । अस्पतालका निर्देशक डा. गणेश राईका अनुसार कान्तिमा लगभग ४० जना डाक्टर बिदामा बसेको भन्दै अस्पतालमा भएका अन्य चिकित्सकहरूमार्फत सेवा सञ्चालन गरेको समेत सुनाए ।
सरकारी चिकित्सक संघ नेपाल (गोदान) का अध्यक्ष डा. दीपेन्द्र पाण्डेले पूर्व घोषित कार्यक्रम अनुसार नै चिकित्सकहरू सामूहिक बिदामा बसेको बताए । सरकारले संघको मागलाई बेवास्ता गरेको भन्दै आफूहरू यसरी विदामा बस्नुपरेको बताए । यसअघि नै गोदानले सामूहिक राजिनामा दिने चेतावनी दिएको थियो । त्यसका लागि हाल नाम संकलनको काम भइरहेको उनले सुनाए ।
सरकारले ल्याएको समायोजन चिकित्सकलाई प्रदेश तथा स्थानीय सरकार अन्तर राखेर परिचालन गर्ने व्यवस्था भएपछि विरोधमा उत्रिएका हुन् । आफूहरूलाई स्थानीय तहसम्म पठाएपनि संघअन्तर्गत राखेर परिचालन गर्नपर्ने बताउँदै आएका छन् ।