आन्दोलनबाट राजतन्त्र र हिन्दू राज्य ल्याउने राप्रपा (संयुक्त)को घोषणा

काठमाडौं । राप्रपा (संयुक्त)का अध्यक्ष पशुपति शमसेर राणाले राजसंस्था सहितको प्रजातन्त्र र हिन्दू राष्ट्र आन्दोलनबाटै स्थापित गर्ने बताएका छन् । सो पार्टीको प्रदेश—१ स्तरीय भेलालाई मंगलबार सम्बोधन गर्दै राणाले सबैलाई स्वीकार्य हुने राजसंस्था सहितको प्रजातन्त्र र सनातन हिन्दू राष्ट्रलाई लिएर संविधानप्रति आफूहरुको  असहमति रहेको जनाएका छन् ।  
असहमति राख्ने संविधानले दिएको अधिकार उपयोग गर्दै, पार्टीको संगठन सुदृढ गरेपछि आफूहरु आन्दोलनमा जाने र जनताको सहयोगबाटै आफ्ना  मान्यता स्थापित गर्ने जनाएका छन् । 
सो पार्टीका तर्फबाट प्रेषित वक्तव्यमा जनाइए अनुसार राणाले संविधानले असहमति राख्ने र  संविधान संशोधन गर्ने अधिकार दिएको समेत जनाए । यस्तो व्यवस्था हुनु यो संविधानको राम्रो पक्ष भएको जनाउँदै उनले  यही व्यवस्थालाई टेकेर आफूहरु राजसंस्था सहितको प्रजातन्त्र र सनातन हिन्दू राष्ट्र स्थापना गर्ने जनाए । ‘‘संविधानले दिएको हक उपयोग गर्दा कसैले हामीलाई थुन्छ भने थुने हुन्छ । यो हाम्रो चुनौति हो’’ राप्रपा (संयुक्त) का अर्का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले बताए । ‘‘सरकारले सुशासन दिन्छ भन्ने आशा थियो तर, सरकार कुशासनतर्फ उन्मुख छ । यसलाई नियन्त्रण गर्न, जनताको हितमा हामी सक्रिय भएर लाग्नेछौं’’ लोहनीले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here