काठमाडौं । संघीय संरचना बमोजिम नेपालको नयाँ नक्सा सार्वजनिक गरिएको छ ।
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालयले आज मन्त्रालयमा पत्रकार सम्मेलन गरी नेपालको प्रशासनिक नक्सा सार्वजनिक गरेको हो ।
सातवटै प्रदेशको टुंगो लागि नसकेको अवस्थामा मन्त्रालयले नक्सा सार्वजनिक गरेको हो ।
मन्त्रालयले ७७ जिल्ला,७ प्रदेश र ७ सय ५३ पालिकासहितको नेपालको नक्सा चाडै सार्वजनिक गर्ने जनाएको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले टुंगो लागेका ३ वटा प्रदेश नक्सामा समावेश गरिएको र टुंगो लाग्न बाँकी ४ वटा प्रदेशको नाम खाली राखेर नक्सा सार्वजनिक गरिएको बताए ।
नेपालको नक्सा गलत रुपमा प्रयोग भएकाले मन्त्रालयले अधुरै भए पनि नक्सा सार्वजनिक गरेको उनको भनाइ छ ।
मन्त्री अर्यालले सरकारले चाडै भू–उपयोग ऐन ल्याउने जानकारी पनि दिए ।
भूमि व्यवस्थापनको लागि सरकारले दीर्घकालीन लक्ष्य र योजना बनाएको भन्दै उहाँले खेती योग्य जमिन बाँझो राख्न नपाइने उल्लेख गरे ।
सरकारको समृद्ध नेपाल र सुखी नेपालीको दीर्घकालीन लक्ष्य जमिन बाँझो राखेर सम्भव नहुने भएकाले विशेष नीति बनाएर अगाडि बढ्ने जानकारी दिए ।
भूमि व्यवस्थापन गर्न सरकारले कानुन निर्माणको तयारी गरेको पनि जानकारी दिए ।