भारतसँग नेपालले किन्न लागेको रेल प्रतिघन्टा १०० किमि कुद्ने, एकपटकमा १३ सयजनाले यात्रा गर्न सक्ने

काठमाडौं, १० चैत । नेपाल सरकारले गत साता भारतबाट दुईवटा रेल खरिद गर्ने भन्दै ८५ करोड रुपैयाँ छुट्याएको थियो ।

नेपालको कुर्थादेखि भारतको जयनगरसम्म रेलसेवा सञ्चालनका लागि चाहिने रेल खरिद प्रक्रिया अगाडि बढाइएको रेल विभागले जनाएको छ ।

विभागका अनुसार सरकारी तहमा हुने खरिद सम्झौताका लागि भारतीय पक्षलाई नेपाल आउन आउँदो हप्ता पत्राचार गरिने छ । विभागका महानिर्देशक बलराम मिश्रले सम्झौता गरेको तीन महिनाभित्र रेल नेपाल आइपुग्ने बताएका छन् । नेपालले खरिद गर्ने रेल भारतको चेन्नईस्थित सरकारी कम्पनीले निर्माण गर्नेछ ।

धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म ३५ किलोमिटरको दूरीमा रेल सञ्चालन गर्न लागिएको र त्यसका लागि तत्काल दुई सेट रेल भए पुग्ने मिश्रको भनाइ छ ।

भारतको आर्थिक तथा प्राविधिक सहयोगमा हाल जयनगरदेखि नेपालको जनकपुर हुँदै बर्दिबाससम्म ६९ किलोमिटर रेलमार्ग निर्माण भइरहेको छ । रेल विभागका अनुसार नेपालले खरिद गर्न लागेको डेमु अर्थात् ‘डिजेल इलेक्ट्रिक मल्टिपल युनिट’ ट्रेन सेट हो ।

यस्ता छन् विशेषता

मध्यम दूरीका लागि उपयुक्त मानिन्छ । प्रतिघन्टा १०० किलोमिटरभन्दा बढी दूरी तय गर्न सक्छ । डिजेल इन्जिनबाट बिजुली उत्पन्न हुन्छ र त्यसबाट रेलमा हुने ट्रयाक्सन मोटर चल्छ । ड्राइभिङ पावर कार, ट्रेलर कार र ड्राइभिङ ट्रेलर कार गरी एउटा ट्रेन सेटमा पाँचवटा कार हुन्छन् । रेलको एउटा सेटमा एकपटकमा १२ सयदेखि १३ सयजनाले यात्रा गर्न सक्नेछन् ।

अगाडि र पछाडि दुईतिरबाटै गुडाउन मिल्ने भएकाले फर्काउनुपर्ने झन्झट हुँदैन । एसीजडित एउटा कोच पनि हुनेछ, जसमा ५० देखि ६० जना विशिष्ट व्यक्तिले यात्रा गर्न सक्नेछन् । रेलको रंग नेपालले भनेअनुसार हुनेछ । रेलमा नेपालको राष्ट्रिय झन्डा र नेपाली पहिचान झल्काउने चिनारी हुनेछन् ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here