जनगणना-२०७८ का लागि ५ अर्ब खर्च हुने, ५० हजार कर्मचारी आवश्यक

काठमाडौं, २७ चैत । केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय जनगणना–२०७८ का लागि करीव ५ अर्ब रुपैयाँ खर्च हुने अनुमान गरेको छ ।

बुधबार संसदको अर्थ समितिमा विभागका महानिर्देशक सुमनराज अर्यालले जनगणनाका लागि चालु आर्थिक वर्षदेखि नै तयारी गर्नुपर्ने र २०७८ मा जनगणना सकिँदासम्म ४ अर्ब खर्च ८६ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको जानकारी गराए ।

‘कार्यालय ब्यवस्थापनदेखिका कामहरु गर्नुपर्ने हुन्छ र अहिलेदेखि नै तयारी थाल्नु पर्ने भएकाले जनगणना सकिँदासम्म ४ अर्ब खर्च ८६ करोड खर्च हुने अनुमान गरेका छौं’ उनले भने । यससम्बन्धी प्रस्ताव विभागले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा पठाइसकेको छ ।

देश संघीय संरचनामा गएकाले प्रदेश, जिल्ला र स्थानीय तहमा जनगणना कार्यालय स्थापना गरी काम गर्ने योजना बनाइएको उनको भनाइ छ । केन्द्रदेखि स्थानीय तहसम्मको तथ्याङ्क संकलन गर्नुपर्ने भएकाले रकम अभाव नहोस् भनेर सरकार समक्ष प्रस्ताव लगिएको पनि उनले जानकारी दिए ।

५० हजार कर्मचारी आवश्यक
महानिर्देशक अर्यालका अनुसार विभागले राष्ट्रिय जनगणना २०७८ का लागि ५० हजार कर्मचारी आवश्यक रहेको अनुमान गरेको छ । विभागले जनगणनाका लागि ६० वटा प्रश्न (प्रश्नावली) तयार पारिएको उनले जानकारी दिएका छन् ।

राष्ट्रिय जनगणना २०७८ को तयारीका सन्दर्भमा समितिले बुधबार विभागलाई बोलाएर छलफल गरेको हो । छलफलका क्रममा सांसदहरुले तथ्याङ्क संकलनका क्रममा हुने त्रुटी र विश्वसनीयतामाथि प्रश्न उठाएका थिए ।

जवाफमा महानिर्देशक अर्यालले कसरी सही तथ्याङ्क संकलन गर्नका सकिन्छ भन्नेमा खुला छलफल गर्न विभाग तयार रहेको बताए ।

शिक्षकलाई नखटाउन सांसदको सुझाव
२०७८ सालमा हुने राष्ट्रिय जनगणनाका लागि ५० हजार कर्मचारीहरु जनगणनामा खटाइने छन् ।
प्रदेश, जिल्ला र स्थानीय तह समन्वय समिति बनाएर दुई वर्षपछि जनगणना गरिने भएको छ । बैठकमा सांसदहरुले जनगणनामा शिक्षकलाई प्रयोग नगर्ने प्रस्ताव गरेका छन् । अधिकांश सांसदले विकास केन्द्रित तथ्याङ्क संकलन गर्नुपर्नेमा जोड दिएका छन् ।

पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले जनगणनामा जाँदा विकास केन्द्रित भएर तथ्याङ्क लिनुपर्ने सुझाव दिएका छन् ।

‘समृद्धि र विकासको लक्ष्यमा केन्द्रित भएर त्यसका लागि चाहिने तथ्याङ्कहरु बटुल्न आवश्यक छ’, भट्टराईले भने, ‘कृषि, उद्योग, साधनस्रोत, पर्यावरण र विकासका पछिल्ला आयामहरु समेत समेटेर आर्थिक तथ्याङ्कहरु संकलन गर्नुपर्ने हुन्छ ।’

पूर्व अर्थमन्त्री समेत रहेका नेकपाका सांसद सुरेन्द्र पाण्डेले जनसंख्याको तथ्याङ्क संकलनको विधि ठीक छ कि छैन भनेर हेर्नुपर्ने बताएका छन् ।

‘कुन जगमा उभिएर सूचना लिइन्छ र दिइन्छ ? त्यसको आधारमा तथ्याङ्क आउने हो । हाम्रो जनसंख्याको गठन ठीक छ कि छैन हेरौं,’ उनले भने । ‘२२ वटा कुखुरा पाल्ने, १० वटा मकैको बोट रोप्नेलाई किसान भन्न थाल्यौं भने सबै किसान हुन्छन् यहाँ । आम्दानीलाई हेरेर पेशागत वर्गीकरण गरी तथ्याङ्क संकलन गर्नुपर्छ ।’

सांसद पाण्डेले ‘नक्कली जनसंख्या’ को समस्या पनि रहेको तर, त्यो राजनीतिक विषय भएकाले सोही तबरमा सल्टिनुपर्ने बताए । जनगणना गर्दा बसोबासको स्थानबाटै तथ्याङ्क संकलन गर्ने, तर निर्वाचनमा भोट हाल्न नागरिकता जारी भएको ठाउँमा जानुपर्ने अवस्था रहेको उनले बताए ।

‘काठमाडौंमा कति बस्छन् भन्दा एउटा तथ्याङ्क, मतदाता कति भन्दा अर्को तथ्याङ्क, फेक जनसंख्या छ नि‘. यसलाई कसरी समेट्ने हो ? यो राजनीतिक एजेण्डा हो,’ उनले भने ।
पूर्व अर्थमन्त्री एवं नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले तथ्याङ्क संकलनको विश्वसनियतामाथि प्रश्न उठाए ।

‘एउटा बिरामी उपचारको लागि अस्पताल जान्छ । तर, उसको सही ल्याब रिर्पोट आएन भने सही उपचार हुन सक्दैन’, उनले भने, ‘त्यसैगरी विकासको लागि पनि सहि तथ्याङ्क आउन जरुरी छ । यसमा आशंकाहरु छन् ।’ जनगणना गर्न जाँदा एउटा घरमा बसेर सिंगै गाउँको तथ्याङ्क लिने प्रचलन रहेको भन्दै उनले यस्तो प्रवृत्तिले सही परिणाम दिन नसक्ने बताए ।

नेकपाका नेता तथा संसद घनश्याम भुसालले जनगणनाको तथ्याङ्क केन्द्रकै समन्वयमा एकद्वार प्रणलीमार्फत हुनुपर्नेमा जोड दिए ।

‘तीन तहले तथ्याङ्क लिन्छन् । यसलाई कसरी व्यवस्थित गर्ने हो ? यो केन्द्रकै समन्वयमा हुनुपर्छ,’ उनले भने ।

नेकपाकी सांसद रामकुमारी झाँक्रीले घरमै काम गर्ने महिलाहरुको योगदानलाई अर्थसँग कसरी जोड्न सकिन्छ भन्नेमा छलफल हुनुपर्ने बताइन् । उनले जनगणनाका लागि शिक्षकहरुलाई खटाउनुभन्दा उच्च माध्यमिक तहदेखि स्नातकोत्तर तहसम्मका विद्यार्थीलाई खटाउन सुझाव दिइन् ।

जवाफमा तथ्याङ्क विभागका महानिर्देशक अर्यालले जनगणनाको विधी र प्राथमिकताबारे थप छलफल गर्न सकिने बताए ।

उनका अनुसार विभागले राष्ट्रिय जनगणना २०७८ का लागि ६० वटा प्रश्न (प्रश्नवली) तयार पारेको छ । शिक्षकलाई जनगणनामा नखटाउने विषयमा विभाग सकारात्मक रहेको र करारमा कर्मचारी लिन सकिने उनले बताए । नेपालमा हरेक १० वर्षको अन्तरालमा जनगणना गर्नुपर्ने प्रावधान छ । यसअघि २०६८ सालमा जनगणना भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here