काठमाडौं, १९ जेठ । प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद डा. मिनेन्द्र रिजालले बजेट वितरणमुखी भएको भन्दै यसले समृद्धि ल्याउन नसक्ने दावी गरेका छन् ।
आइतबार बजेटमाथि छलफल गर्न बोलाइएको प्रतिनिधिसभा वैठकमा रिजालले उक्त कुरा बताएका हुन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा आगामी आर्थिक वर्ष २०७६–७७ को राजश्व र व्ययको वार्षिक अनुमान अर्थात् बजेट माथिको छलफलमा सहभागी हुँदै सांसद रिजालले शक्तिशाली सरकारले ल्याएको बजेटले सरकारको सम्मृद्धिको लक्ष्य हासिल हुन नसक्ने दाबी गरे ।
चालु खर्च पूरा हुने आधारहरु बजेटमा नदेखिएको तथा आयातमा आधारित राजश्वको सतहमा गुलियो लगाएर वितरणमुखी कार्यक्रम बाँड्ने काम भएको तर्क उनले गरे । बजेटमा पूँजीगत खर्च बढाउने क्षमता प्रस्ताव नगरिएको भन्दै उनले स्थानीय र प्रदेश सरकारको पूँजीगत खर्च नबढेसम्म आर्थिक विकास नहुने बताए ।
अघिल्लो वर्ष राजश्व ३० प्रतिशतले वृद्धि गर्ने र खर्च वृद्धि गर्ने लक्ष्य पूरा हुन नसकेको दृष्टान्त दिँदै उनले यस वर्ष पनि ३० प्रतिशतले राजश्व वृद्धि गर्ने लक्ष्य पूरा हुन नसक्ने दाबी उनले गरे । १५ सय ३३ अर्बको स्रोत साधन ऋण परिचालन हुन्छ भनी विश्वास गर्ने आधार नभएको, बजेटमा भने जसरी चालु खर्च घटाउन नसकिने, ४ सय ८ अर्ब पूँजीगत खर्च कुरा कुनै पनि आधारबाट पूरा हुन नसक्ने टिप्पणी गरे ।