चार जना सरकारी चिकित्सकको दरबन्दी रहेको डोटी अस्पतालमा पछिल्लो समय गैरसरकारी संस्थाले खटाएका चिकित्सकका भरमा काम सञ्चालन हुँदै आएको छ ।अस्पतालमा नवौँ र दशौँ तहका दुई जना र मेडिकल अधिकृत दुई जना गरी कूल चार जनाको दरबन्दी भए पनि एक जना मेडिकल अधिकृत डा भूषण मिश्र मात्रै कार्यरत छन् । उनले निमित्त मेडिकल सुपरिटेन्डेण्ट भएर अस्पताल चलाइरहेका छन् ।
अस्पतालमा सरकारी डाक्टर नभएपछि गैरसरकारी संस्था निक साइमन इन्टरनेशनलले दुई जना चिकित्सक उपलब्ध गराएको छ । एमडिजिबी गरेका डा गिरिश अवस्थी र एमबिबिएस गरेका डा खुसिद आलम खान रहेका छन् । अस्पतालमा दरबन्दी अनुसारका डाक्टर नहुँदा निकै समस्या भएको निमित्त मेडिकल सुपरिटेन्डेण्ट डा भूषण मिश्रले बताए ।अस्पतालमा दरबन्दीअनुसारका चिकित्सक अभावका कारण स्वास्थ्य सेवा विस्तारमा समस्या आएको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालमा दरबन्दी अनुसारका डाक्टरको सङ्ख्या कमी भए पनि स्वास्थ्यकर्मीको दरबन्दी भने पूर्ण रहेको छ ।
अस्पताललाई ५० शैय्यामा स्तरोन्नति गर्न पर्याप्त संरचना बनेका भए पनि अस्पतालमा अहिलेसम्म जम्मा १५ शैय्या मात्रै स्वीकृत छ । सरकारले ५० शैय्याका अस्पताल बनाउने निर्णय गरे पनि उक्त निर्णय कार्यान्वयन हुन सकेको छैन । भौतिक पूर्वाधार तयार भएको रिपोर्टसहितको ५० शैय्याको अस्पतालको माग गरिएपनि सरकारी निकायबाट नै कार्यान्वयन गर्ने भन्ने आदेश नआएकाले ५० शैय्याको अस्पताल बनाउन नसकिएको अस्पताल प्रशासनको दाबी छ ।