अमेरिकाको टेक्सस राज्यको अल पासो सहरमा अन्धाधुन्ध गोली चलाइँदा २० जनाको मृत्यु भएको छ । दुई दर्जनभन्दा बढी घाइते भएका छन् । टेक्ससको स्थानीय प्रशासनका अनुसार यो गोलीबारी शनिबार अल पासोमा सपिङ मलमा भएको थियो । अल पासोका प्रहरी प्रमुख ग्रेग एलनका अनुसार २६ मानिसहरु घाइते भएका छन् । एलनले मारिने र घाइते हुनेहरु सबै उमेर समूहको भएको बताएका छन् ।
२१ वर्षका एक युवाले यो गोली चलाएको उनले बताएका छन् । ती युवा अहिले प्रहरी हिरासतमा छन् । उनी डलासको भएको र उनीविरुद्ध प्रहरीले फाँसीको सजायका लागि प्रक्रिया अगाडि बढाएको बताएको छ । ग्रेग एलनले चाहिँ यो घटना राजनीतिक नस्लभेदी अपराध भएको बताएका छन् ।
घटनामा तीन मेक्सिको नागरिक मारिएका छन् । मेक्सिकोका ६ नागरिक घाइते भएको मेक्सिकोका राष्ट्रपति एन्ड्रेस म्यानुएल लोपेजले ट्विटरमा लेखेका छन् ।प्रहरीले आक्रमणकारीले एउटा राइफल प्रयोग गरेर अन्धाधुन्ध प्रहार गरेको बताएका छन् । आक्रमण गरिएको सपिङ मल वालमार्टले घटनाबाट निकै दुखी भएको विज्ञप्ति निकालेको छ ।