काठमाडौं, २६ साउन । सिंगापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली निर्धारित समयभन्दा लामो समय स्वदेश फर्किन सकेका छैनन् । स्वास्थ्य परीक्षणका लागि सिंगापुर पुगेका प्रधानमन्त्री ओली विभिन्न कारण देखाउँदै स्वदेश फर्कने कार्यक्रम सारिरहेका छन् ।
नियमित स्वास्थ्य परीक्षणका लागि साउन १८ गते त्यसतर्फ गएका उनी अब भोलि सोमबार मात्रै स्वदेश फर्किने भएका छन् ।
प्रधानमन्त्री ओली शुक्रबार स्वदेश फर्कने पूर्वनिर्धारित कार्यक्रम रहेपनि उपचार नसकिएका कारण आइतबार स्वदेश फर्कने सूचना दिइएको थियो । तर स्वास्थ्य परीक्षणको रिपोर्ट आउन बाँकी रहेपछि उनले पुनः स्वदेश फर्कने कार्यक्रम सोमबारलाई सारेका हुन् ।
आज आइतबार साँझसम्ममा रिपोर्ट आउने र सोमबार फर्कने कार्यक्रम बनाइए पनि अझ थप समय उतै रहनुपर्ने हुनसक्ने प्रधानमन्त्री निकट स्रोतले जनाएको छ । प्रधानमन्त्री ओलीको सिङ्गापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण भइरहेको छ ।