काठमाडौ । कमजोर एटीएम प्रणाली भएका देशमा नक्कली एटीएम बनाएर पैसा चोर्ने चिनियाँ गिरोह फेला परेको छ । नबिल बैङ्कको नक्कली एटीएम प्रयोग गरेर पैसा निकाल्न सक्रिय ५ जना चाइनीज नागरिक पक्राउ परेसँगै यो कुरा खुल्न आएको हो । उनीहरु भदौ १३ गते साँझ नेपाल आएको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ ।
उनीहरुलाई महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले दरबारमार्गबाट पक्राउ गरेको हो । नबिल बैङ्कबाट पैसा निकाल्दै गरेको अवस्थामा सो समूहका सुरुमा एक जनालाई पक्राउ गरेर अनुसन्धान गर्दै जाँदा बाँकी ४ जनाको पनि संलग्ता देखिएपछि उनीहरु दरबारमार्गस्थित माया मनोहर होटलबाट पक्राउ परेका हुन् ।
परिसरका डीएसपी होविन्द्र बोगटीको नेतृत्वमा गएको टोलीले उनीहरुको साथबाट १ करोड २६ लाख नेपाली रुपैयाँ र १० हजार युएस डलर समेत बरामद गरेको छ । पक्राउ परेका ५ जनालाई आज दिउँसो पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ । उनीहरु कमजोर एटीएम प्रणाली रहेका देश पुगेर नक्कली कार्डबाट पैसा निकाल्ने गरेको हुनसक्ने डीएसपी बोगटीले बताए ।