काठमाडौँ – कञ्चनपुरमा जंगली हात्तीको आक्रमणबाट दुईजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् । महाकाली नगरपालिका– २ मा रहेको मायापुरी सामुदायिक वनमा घाँसदाउरा गर्न गएका महिलाहरुमाथि जंगली हात्तीको समूहले आक्रमण गरेको हो ।
हात्तीको आक्रमणबाट स्थानीय ५० वर्षीया भुरीदेवी बोहरा र ३८ वर्षीया बसन्ती भट्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी दिनेश आचार्यले जानकारी दिए ।
हात्तीको आक्रमणमा परी घाइते हुनेमा ३५ वर्षीया ललिता बोहरा, ३४ वर्षीया सुनिता विष्ट, ३२ वर्षीया उमा साउँद र ३५ वर्षीया सरिता ओझा रहेका छन् ।उनीहरु सबैको भारतको खटिमास्थित अस्पतालमा उपचार भइरहेको एसपी आचार्यले बताए ।