दैनिक छ किमी बाटो कालोपत्र भएको छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार गठनपश्चात प्रतिदिन लगभग छ किलोमिटरका दरले सडक कालोपत्र हुँदै आएको बताए । 

सरकार गठनको दुई वर्ष पूरा भएको अवसरमा प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै आज उनले सरकारले यस अवधिमा हासिल गरेका उपलब्धिका बारेमा जानकारी गराउँदै सो जानकारी दिएका हुन् ।

प्रधानमन्त्री ओलीले भने, “यस अवधिमा १२५ तुइन विस्थापन भइसकेका छन्, भूकम्पले क्षतिग्रस्त तातोपानी जोड्ने सडक निर्माण भई आयात–निर्यात सञ्चालन भएको छ । कृषि र माछामासुमा मुलुक आत्मनिर्भर भएको छ ।”

सरकारले करका दर होइन दायरा बढाउने सोच बनाएको उल्लेख गर्दै उनले स्थिर सरकार गठनसँगै विदेशी लगानीका लागि राम्रो वातावरण बनेको बताए ।

यस अवधिमा दुई खर्बको लगानीको प्रतिबद्धता आएको जानकारी गराउँदै प्रधानमन्त्री ओलीले व्यापार विविधिकरणमा उल्लेखनीय सुधार आई निर्यात २६.१ प्रतिशतले बढेको र आयात घटेको बताए ।

ऊर्जा क्षेत्रमा भएका उल्लेखनीय उपलब्धिका बारेमा जानकारी गराउँदै उनले विद्युत् उत्पादनमा भएको वृद्धिसँगै विद्युत् निर्यातसमेत हुन थालेको बताए ।  साथै ८८ प्रतिशत जनसङ्ख्यामा विद्युत् पुगेको उनले जानकारी गराए ।

यस अवधिमा विभिन्न विद्युत् प्रसारण लाइन निर्माणमा पनि उल्लेखनीय प्रगति भएको छ । यसले उत्पादित विद्युत् भारत र बङ्गलादेश निर्यातका लागि सहज भएको प्रधानमन्त्री ओलीको भनाइ थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here