काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दैनिक ज्यालादारी गरी जीविकोपार्जन गर्ने श्रमिकहरुका लागि सरकारले विशेष राहत प्याकेज ल्याउनुपर्ने बताएका छन्। लकडाउनका बेला न्यून आय भएकाहरू भोकभोकै बस्नुपर्ने अवस्थाप्रति ध्यान दिँदै प्रचण्डले न्यून वर्गीय श्रमिक जनताका लागि खाद्यान्नलगायत राहत प्याकेज ल्याउन सरकारको ध्यानाकर्षण गराएका हुन्।
शनिबार भिडिओ सन्देश जारी गर्दै प्रचण्डले ‘दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्नुपर्ने न्यून वर्गीय जनताको खाद्यान्नलगायत व्यवस्थापनमा सरकारले विशेष सहयोग प्याकेज घोषणामा ध्यान जाने नै छ’ भन्ने सुझाव दिएका छन्।
अध्यक्ष प्रचण्डले संकटको घडीमा सहयोग गर्न व्यापारीहरुलाई पनि अपिल गरेका छन्। प्रचण्डले सातै प्रदेशमा उपकरणहरुको व्यवस्था गर्न पनि आग्रह गरेका छन्। उनले भने, ‘कोरोना भाइरसविरुद्धको लडाइमा अग्र मोर्चामा रहेर जोखिम उठाउने चिकित्सक, सुरक्षाकर्मीको मनोवल उच्च राख्न आवश्यक उत्प्रेरणा, सुरक्षा र सातै प्रदेशमा उपकरणको व्यवस्थामा राज्यका तर्फबाट थप जोड दिन आवश्यक छ।’
प्रचण्डले सरकार र पार्टी पङ्तिलाई स्वयंसेवीको रुपमा काम गर्न पनि अनुरोध गरेका छन। उनले लकडाउनका बेला घरबाहिर ननिस्कन प्रचण्डले आग्रह गरेका छन्। उनले स्वास्थ्यकर्मी, सुरक्षाकर्मीले गर्दै आएका कामप्रति धन्यवाद दिएका छन्। सञ्चार माध्यमलाई पनि विश्वसनीय सूचना उपलब्ध गराउन उनले आग्रह गरेका छन्।
‘घरमै बसेर आफू र परिवारको जीवन रक्षा गर्न म अपिल गर्दछु,’ उनले भनेका छन्। उनले उच्च ज्वरो, सुख्खा खोकीलगायत लक्षण देखिए परीक्षणका लागि अस्पताल जान आग्रह गरेका छन्। कोरोनाभाइरसबाट बच्न उच्च सतर्कता अपनाउनुपर्ने भन्दै प्रचण्डले चीन, अमेरिका, इटाली, कोरियाबाट पाठ सिकेर होसियार हुनुपर्ने बताए।