नेपालमापनि लकडाउन लम्बिने पक्का भएको छ । सरकारले मंगलबार घोषणा गरेको लकडाउनको समय सकिनै लाग्दा पुनः लकडाउन लम्ब्याउन छलफल भइरहेको छ । भारतले २१ दिन गरेको लकडाउनसँगै नेपाललेपनि लम्ब्याउने निश्चित भएको हो । नेपालमा दोस्रो व्यक्तिमा संक्रमण देखिएलगत्तै गत सोमबार उच्चस्तरीय समन्वय समितिले मंगलबार विहान ६ बजेबाट लागू हुने गरी एक साता लामो लकडाउन घोषणा गरेको थियो । यो लकडाउन चैत १८ गते विहान ६ बजेसम्म कायम रहनेछ ।
तर त्यसअघि नै लकडाउनको अवधि थप्ने निर्णय हुने स्रोतले जनाएको छ । कोरोना भाइरसको संक्रमण फैलिन नदिने एउटा मात्र विकल्प जनतालाई घरभित्रै राख्नु भएकाले लकडाउनको अवधि थप्न लागिएको एक मन्त्रीले बताए । यसका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले अपराह्न ४ बजे मन्त्रिपरिषदको बैठक बोलाएका छन् । लकडाउनको अवधि लम्बिँदा अत्यावश्यक सेवा प्रवाहलाई प्रभावकारी बनाउन उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समन्वय समितिले कार्ययोजना बनाएको छ ।
तरकारी, खाद्यान्न, इन्धनलगायतका अत्यावश्यक सामाग्री खरिदका लागि मानिसहरु घर बाहिर ठूलो संख्यामा ननिस्कुन् भनेर होम डेलिभरीको संयन्त्र खडा गर्ने र टोलटोलमा आपूर्ति गर्ने योजना छ । यो कार्ययोजनाबारे शनिबार राष्ट्रपति र प्रधानमन्त्रीलाई ब्रिफिङ गरिएको थियो । यस्तै सरकारले निर्माण क्षेत्रमा दैनिक ज्यालादारीमा काम गर्ने र अति विपन्नलाई केही राहत प्याकेज घोषणा गर्ने तयारी गरेको छ । अहिले सबै परिस्थितिको आँकलन भइनसकेकाले समग्र आर्थिक राहत प्याकेज घोषणाभन्दा दैनिक गुजरा चलाउन समस्या हुनेहरुको हकमा केही व्यवस्था गर्न लागिएको बताइएको छ ।