काठमाडौं- आइतबार बारामा नयाँ भेटिएका कोरोना सक्रमितमध्ये चार जना प्रहरी रहेको खुलेको छ। संक्रमित चारै जना जिल्ला प्रहरी कार्यालयमा कार्यरत रहेको बाराका प्रहरी प्रमुख एसपी कृष्ण पंगेनीले जानकारी दिए।
उनका अनुसार संक्रमित हुनेमा सर्लाही घर भएका ४९ वर्षीय, कलैया-१६ घर भएका ३४ वर्षीय, पर्सा घर भएका ३२ वर्षीय र रौतहटको युमनामाई घर भएका ३४ वर्षीय प्रहरी कर्मचारी छन्। बारामा योसंगै कोरोना संक्रमित हुने प्रहरीको संख्या ५ पुगेको छ।
यसअघि जिल्ला प्रहरीको मुद्दा शाखामा कार्यरत एक जनामा कोरोना संक्रमण पुष्टि भएपछि कन्ट्याक ट्रेसिङको आधारमा उनीहरुमा संक्रमण पुष्टि भएको हो। उनीहरु सबैको जेठ ७ गते स्वाब परीक्षण गरिएको थियो। बाल मन्दिरको आइसोलेसनमा रहेका संक्रमितलाई कलैया अस्पताल लगिँदै छ।
आइतबार देशभर थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा कोरोना संक्रमितको संख्या ६०३ पुगेको छ भने ८७ जना उपचारपछि निको भएका छन् ।