प्रदेश २ मा पछिल्लो २४ घण्टामा एक महिलासहित ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशको धनुषा, महोत्तरी, सर्लाही र रौतहट जिल्लाका ६६ जनामा संक्रमण पुष्टि भएको हो । ६६ जना नयाँ संक्रमित थपिएसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ७८१ पुगेको छ ।
विहिबार धनुषामा २९ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । जिल्लाको नगराईन नगरपालिकास्थित क्वारेन्टिनका २८ र मुखियापट्टी मुसहरनिया गाउँपालिका क्वारेन्टिनका एकजनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।
यसैगरी रौतहटको ३४ जनामा संक्रमण पुष्टि भएको छ । जिल्लाको ईशनाथ र राजपुर नगरपालिकास्थित क्वारेन्टिनमा रहेका मानिसहरुमा संक्रमण पुष्टि भएको हो । महोत्तरीको सम्सी गाउँपालिकाका १ र सर्लाहीका विष्णुपुर क्वारेन्टिनका २ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।