मसुद अजहर राष्ट्रसंघकाे आतंकवादी सूचीमा

भारत र पाकिस्तानलाई हालै युद्धको संघारमा पुर्‍याइदिने गरी भारत प्रशासित काश्मीरमा आत्मघाती आक्रमण गराउने समूहका नेतालाई संयुक्त राष्ट्रसंघले आतंकवादी घोषणा गरेको छ।

मसुद अजहर जैस-ए-मोहम्मद समूहका प्रमुख हुन्, जुन समूहले गत फेब्रुअरीमा काश्मीरको पुलवामामा ४० जना भारतीय अर्धसैनिक बलका सदस्यको ज्यान जाने गरी ठूलो विस्फोटन गराएको थियो ।

चीनले उक्त समूहबारे आफ्नो अडान छाडेपछि संयुक्त राष्ट्रसंघले त्यस्तो निर्णय गरेको बीबीसीले जनाएको छ।

यसअघि चीनले उक्त प्रस्तावबारे अध्ययन गर्न थप समय चाहिने भन्दै त्यस्तो प्रस्ताव स्थगित गराउन अनुरोध गरेको थियो। भारतले यसलाई आफ्नो कूटनीतिक जितका रूपमा हेरेको छ। यस निर्णयसँगै मसुदको सम्पत्ति रोक्का र यात्रामा प्रतिबन्ध लाग्नेछन्।

‘ठूला, साना सबै (देश)ले साथ दिएका छन्। संयुक्त राष्ट्रसंघकाे प्रतिबन्ध सूचीमा मसुद अजहर आतंकवादी घोषित भएका छन् । सबैको सहयोगका लागि हामी कृतज्ञ छौं, ‘ राष्ट्रसंघका लागि भारतीय राजदूत सैयद अकबरुद्दिनले ट्वीट गरेका छन्।

के हो मसुदको जैस-ए-मोहम्मद ?

जैस-ए-मोहम्मदको शाब्दिक अर्थ मोहम्मदको सेना हुन्छ।

सन् १९९९ मा इन्डियन एयरलाइन्सको विमान अपहरणकर्ताहरूको मागबमोजिम यात्रुहरूलाई सकुशल छाडिदिने सर्तमा भारतले रिहा गरिदिएको मसुद अजहरले नै उक्त समूहको गठन गरेका हुन् ।

त्यतिखेर सो विमानलाई काठमाडाैंबाट अपहरण गरेर तालिवान शासित अफगानिस्तान पुर्‍याइएको थियो।

सो देशमा रहँदा अजहरले भूतपूर्व तालिवान नेता मुल्लाह ओमार तथा अल कायदाका नेता ओसामा बिन लादेनसँग भेटेको बताइन्छ।

दिल्लीस्थित भारतको केन्द्रीय संसद्‌मा सन् २००१ को डिसेम्बरमा आक्रमण गरेको दोष भारतले जैस-ए-मोहम्मदमाथि लगाएको छ।

उक्त घटनालगत्तै पाकिस्तानले औपचारिक रूपमा उक्त समूहमाथि प्रतिबन्ध लगायो। तर, सो समूह अझै सक्रिय रहेको ठानिन्छ र बेलाबखत त्यसले अफजल गुरु गुट, अल-मुराबितुन तथा तहरिक-ए-फुर्कानजस्ता विभिन्न नाममा आफ्ना गतिविधि सञ्चालन गर्ने गर्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here