काठमाडौँ – फ्रान्स र जर्मनीले शनिबार पनि आफ्ना नागरिक नेपालबाट फिर्ता लग्दैछन्। कतार एयरलाइन्सको चार्टर्ड विमानमार्फत उनीहरुलाई आफ्नो देश लैजान लागिएको हो।
फ्रान्सका नागरिक लिएर जाने विमानमा १० प्रतिशत अन्य युरोपियन देशका नागरिक पनि हुनेछन्। यो विमान दोहो हुँदै पेरिसमा अवतरण हुने छ। यसैगरि जर्मनी जाने विमानमा २० प्रतिशत अन्य युरोपियन देशका नागरिक हुनेछन्। दुवै विमानमा समान ३ सय ३ यात्रु रहनेछन्।
यो विमान दोहा हुँदै फ्रान्कफर्ट अवतरण हुने छ। यसअघि जर्मनीले नेपालबाट दुईपटक र फ्रान्सले एकपटक चार्टर्ड विमानमार्फत आफ्ना नागरिक ओसारिसकेको छ।
अस्ट्रेलिया, नेदरल्यान्ड्स र अमेरिकाले पनि विमान चार्टर्ड गरि नेपालबाट आफ्ना नागरिक लगेका छन्। अमेरिकाले आइतबार पनि नेपालबाट आफ्ना नागरिक फिर्ता लैजाँदै छ।
कोरोना भाइरसको विश्वव्यापी महामारी र नेपालमा जारी लकडाउनका कारण विभिन्न देशले नेपालबाट आफ्ना नागरिक लगिरहेका छन्। नेपालले भने भारतबाट मजदुरी गरि फर्किएका आफ्ना नागरिकलाई सीमा पारी रोकेको छ।