काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ विरुद्धको खोपको तेस्रो चरणको क्लिनिकल ट्रायलको काम अगाडि बढाउन चिनियाँ कम्पनी होङ् सीलाई स्वीकृति प्रदान गरेको छ ।
तर होङ् सीले गर्ने तेस्रो चरणको ट्रायलमा चिनियाँ नागरिक मात्रै सहभागी हुने मन्त्रालयले प्रष्ट्याएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले चिनियाँ कम्पनी होङ् सीलाई तेस्रो चरणको ट्रायलको लागि मन्त्रीस्तरीय निर्णयबाट स्वीकृति दिइएको जानकारी दिए । डा गौतमले भने, ‘तेस्रो चरणको क्लिनिकल ट्रायलमा होङ् सीमा कार्यरत चिनियाँ कामदार सहभागी हुनेछन् ।’ उनले नेपाली नागरिकलाई स्वयंसेवकको रुपमा सहभागी गराउँदा छुट्टै प्रक्रिया भएर जानुपर्ने बताउँछन् । ‘तर प्रस्तावकर्ताले आफ्ना नागरिकमाथि परीक्षण गर्ने बताएपछि छोटो अवधिमै स्वीकृति दिइएको हो ।’ मन्त्रालयका प्रवक्ता डा गौतमले प्रष्ट्याए ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले भने होङ् सीको प्रस्तावमाथि अध्ययन भइरहेको जनाएको छ । मन्त्रालयले क्लिनिकल ट्रायलबारे अध्ययन र अनुसन्धान गर्न परिषद्लाई जिम्मेवारी दिएको छ । परिषद्का सदस्य सचिव डा प्रदीप ज्ञवालीले भने होङ् सीको प्रस्ताव आएको र त्यसमाथि अध्ययन भइरहेको बताए । (गोरखापत्र)