कञ्चनपुरको भीमदत्त–२ उल्टाखामकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको एक वर्ष बितिसकेको छ । यसबीचमा सात अनुसन्धान टोली गठन, ८० जनाको डिएनए परीक्षण, पाँच सयभन्दा बढीलाई सोधपुछ र १० हजारभन्दा बढीको कल डिटेल अध्ययन भए पनि दोषी भने पत्ता लागेको छैन ।
गृहमन्त्री रामबहादुर थापा बादलले मंगलबार निर्मला पन्त प्रकरणमा सरकार असफल भएको स्वीकार गरे । विकसित देशमा समेत सबै घटनाका दोषी पत्ता नलागेको र यो घटनालाई धेरै राजनीतीकरण गरिएको आरोप उनले लगाए ।
तर, यो प्रकरणमा कहाँ–कहाँ कमजोरी भयो भनेर पत्ता लगाउने कामसमेत हुन सकेको छैन । छानबिनका क्रममा घटनास्थलदेखि ल्याबसम्म कमजोरी भएको विवरण आइसकेका छन् । अभियुक्त त पत्ता लागेनन् नै यो घटनाबाट सिकेर अझै सुधारको प्रयास भएको छैन ।
प्रहरीले ८० जनाको डिएनए परीक्षण गरे पनि कसैको मिलेको छैन । सोधपुछका क्रममा अपराध स्वीकार गरेका व्यक्तिको समेत डिएनए मेल खाएन । शंकाको घेरामा परेका सबैको परीक्षण भइसकेको छ । पक्राउ परिसकेकै व्यक्ति दोषी हुन सक्ने सम्भावना पनि छ । तर, प्रहरी त्यता फर्कन सक्ने अवस्थामा छैन । घटनाका प्रत्यक्षदर्शी नभएकाले अभियुक्तले साबिती दिएको अवस्थामा बाहेक प्रहरीसँग कुनै बलियो प्रमाण छैन ।
विज्ञ भन्छन्– डिएनएबाट दोषी पत्ता लगाउन कठिन छ
निर्मला प्रकरणमा डिएनएलाई अचुक अस्त्रका रूपमा हेरिँदै आएको छ । तर, निर्मलाको भजाइनल स्वाबबाट निकालिएको नमुनाबाट डिएनए परीक्षण गरी अभियुक्त पत्ता लगाउन असम्भव रहेको विज्ञहरू बताउँछन् । नमुना संकलन र परीक्षणमा प्रहरीको गल्तीले गर्दा यो अवस्था आएको उनीहरूको भनाइ छ ।
प्रहरीको केन्द्रीय विधिविज्ञान प्रयोगशालाले वाई–एसटिआई विधिबाट डिएनए परीक्षण गरेको थियो । यो विधि खासगरी वंश पत्ता लगाउन प्रयोग गरिन्छ । व्यक्ति पहिचान गर्ने अटोजोमल प्रविधिबाट परीक्षण हुन नसक्दा निर्मला हत्याका अभियुक्त पत्ता लगाउन कठिन हुने राष्ट्रिय विधिविज्ञान प्रयोगशालाका डिएनएविज्ञ दिनेश झा बताउँछन् । ‘वाई–एसटिआरबाट कुनै पनि व्यक्तिको पुस्ता मात्र पत्ता लाग्छ,’ झा भन्छन्, ‘त्यसकारण त्यो प्रविधिबाट बलात्कार गर्ने पुस्तासम्म प्रहरी जान सक्छ, ठ्याक्कै व्यक्तिसँग डिएनए मेल खाँदैन ।’
प्रहरीले निर्मलाको शरीरबाट संकलन गरेको बलात्कारीको वीर्यको नमुना जोगाउन नसक्दा यस्तो अवस्था आएको हो । वाई–एसटिआर प्रविधिबाट डिएनए परीक्षण गर्ने क्रममा धेरै नमुना नष्ट भएकाले अटोजोमल प्रविधिबाट पुनः परीक्षण गर्न अब सम्भव छैन । त्यसैले दोषी पत्ता लगाउने एउटै आशा पनि कमजोर बनेको छ ।
‘यदि प्रहरीले भजाइनल स्वाबबाट सुरुमै वीर्य मात्र छुट्याएको हुन्थ्यो भने अटोजोमल प्रविधिबाट परीक्षण सम्भव थियो,’ राष्ट्रिय विधिविज्ञान प्रयोगशालाका पूर्व कार्यकारी निर्देशक जीवन रिजाल भन्छन्, ‘वाई–एसटिआर विधिबाट परीक्षण गर्दा नमुना नष्ट हुँदा यो घटना जटिल बनेको छ ।’
प्रहरीले भने अटोजोमल प्रविधिबाट पनि परीक्षणको प्रयास गरेको, तर नमुना पर्याप्त नहुँदा नतिजा आउन नसकेको जनाएको छ । ‘अटोजोमल प्रविधिबाट परीक्षणका लागि शंकास्पद व्यक्तिको डिएनएको मात्रा नमुनामा १–१० हुनुपर्छ, मात्रा नपुगकाले नै निर्मलाको केसमा अटोजोमल प्रविधि प्रयोग हुन नसकेको हो,’ केन्द्रीय विधिविज्ञान प्रयोगशालामा कार्यरत एक प्रहरी अधिकारी भने ।
प्रहरीले गरेको नमुना संकलनमा राष्ट्रिय मानवअधिकार आयोगले समेत प्रश्न उठाएको छ । नमुना संकलन तथा ल्याबमा ध्यान पु¥याउन नसक्दा नमुनामा असर पुग्न सक्ने र गलत नजिता आउन सक्ने विज्ञ रिजाल बताउँछन् । ‘डिएनए परीक्षण एकदमै संवेदनशील विधि हो,’ उनी भन्छन्, ‘सानो त्रुटिले धेरै गडबड हुन सक्छ, यसमा पनि कतै त्रुटि भएको हुन सक्छ ।’
आइजिपीदेखि प्रधानमन्त्रीसम्मको गैरजिम्मेवारीपन
प्रहरी महानिरीक्षकदेखि प्रधानमन्त्रीसम्मको कमजोरीले निर्मला प्रकरण अझ विवादित बन्यो । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मलाको शव मेयरको आँगनमा राखेर आन्दोलन गरेको भन्दै एक टेलिभिजन कार्यक्रमा आक्रोश पोखेका थिए ।
जब कि मेयरको घरमा शव लगिएकै थिएन । प्रधानमन्त्रीले नै झुटो आरोप लगाएपछि स्थानीयहरू थप आक्रोशित भए । त्यस्तै गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले शंकास्पद व्यक्तिको पक्राउलाई दोषी पत्ता लगाएको भनेर संसद्मा गलत दाबी गरे ।
प्रदीप रावल र विशाल चौधरीलाई पक्राउ गर्दा उपपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले अभियुक्तहरू पक्राउ परिसकेको भनेर भाषण गरे । तर, उनीहरूको संलग्नता देखिएन । तीन सातासम्म थुनामा राखेर अनुसन्धान गरियो, तर डिएनए नमिलेपछि उनीहरू छुटे । आफूहरूलाई यातना दिएको भन्दै उनीहरूले समेत प्रहरीविरुद्ध मुद्दा हाल्ने प्रयास गरेका थिए ।
एकातर्फ अनुसन्धानमा सही निर्देशन दिन नसक्नु र अर्काेतर्फ बयानमुखी अनुसन्धानलाई जोड दिँदा आइजिपी खनाल पनि विवादमा मुछिए । निर्मला प्रकरणबाट प्रहरीको अनुसन्धान विश्वासको संकटमा प¥यो । प्रहरीले नक्कली अभियुक्त खडा गर्छ भन्ने सन्देश आम मानिससम्म गएको छ । तैपनि प्रहरीले अपराध अनुसन्धान प्रणालीलाई थप व्यवस्थित बनाउने पहल गरेको छैन ।
सर्वाेच्च अदालतको फैसला– डिएनए शतप्रतिशत सत्य हुन्छ भन्ने मान्न सकिन्न
सर्वाेच्च अदालतले डिएनए रिपोर्ट शतप्रतिशत सत्य हुन्छ भन्न नसकिने फैसला गरेको छ । अशंसम्बन्धी मुद्दाको फैसलामा माघ ०७३ मा न्यायाधीश दीपकुमार कार्की, केदारप्रसाद चालिसे र शारदाप्रसाद घिमिरेको इजलासले यस्तो फैसला गरेको थियो ।
लक्ष्मी श्रेष्ठको अंश मुद्दामा सर्वाेच्चको फैसलामा भनिएको छ, ‘विशेषज्ञको रायको महत्व राख्ने डिएनए परीक्षण प्रतिवेदनले निश्चयात्मक सबुतको स्थान ग्रहण गर्न भने नसक्ने पनि हुन सक्छ । विशेषज्ञको राय न्यायकर्तालाई न्यायिक निष्कर्ष निकाल्न सघाउ पु¥याउने एउटा माध्यम पनि हो ।
अन्य प्रत्यक्ष तथा विश्वास गर्नलायक प्रमाणको शृंखलाले डिएनए परीक्षण प्रतिवेदनको प्रतिकूल निष्कर्ष निकाल्छन् भने न्यायकर्ताले यी प्रमाणको शृंखलाका आधारमा उपयुक्त धारणा बनाउन सक्ने र संसारमा कुनै पनि कुरा निरपेक्ष हुँदैन भने डिएनए परीक्षण प्रतिवेदन शतशप्रतिशत सत्य हुन्छ भनेर मान्न नसकिने पनि हुन सक्छ ।
परीक्षण गर्ने संयन्त्र, वातावरण, समय र साधनले यो परीक्षणलाई प्रभाव पार्दै पार्दैन भन्ने ठान्नु उचित नहुने ।’ सोही नजिरलाई टेकेर ललितपुरको गोदामचौर घटनाका अभियुक्तलाई जिल्ला अदालतले दोषी ठहर गरेको थियो ।
अनेक अनुसन्धान टोली, परिणाम शून्य
घटनाको अनुसन्धानका लागि केन्द्रबाट कम्तीमा सातवटा टोली खटिए पनि कुनै निष्कर्ष निस्किएन । सुरुमा डिएसपी अंगुर जिसीको नेतृत्वमा टोली खटिएको थियो । जसले दिलीपसिंह विष्टलाई अभियुक्त बनाएपछि प्रहरी संकटमा फसेको थियो । सो टोलीलाई फर्काएर केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का तत्कालीन एसएसपी ठाकुर ज्ञवाली नेतृत्वको टोली प्राविधिक रूपमा अनुसन्धानका लागि खटिएको थियो ।
प्रहरी प्रधान कार्यालयबाट एसपी दुर्गा सिंह नेतृत्वको अर्काे टोली पनि कञ्चनपुरमा खटियो । यी दुवै टोलीले पनि प्रगति हात पार्न सकेनन् । त्यसपछि डिएसपी कमल थापाको नेतृत्वमा टोली खटियो । त्यही टोलीले प्रदीप रावल र विशाल चौधरीलाई पक्राउ गरी काठमाडौं ल्याएको थियो । तर, उनीहरू पनि निर्दोष देखिए । निर्दाेषलाई पक्राउ गरिएको भन्दै प्रहरी झन् विवादमा र्पयो ।
त्यो टोली पनि फिर्ता भयो । त्यसपछि सिआइबीका तत्कालीन एसपी सुदीप गिरी नेतृत्वको टोली खटियो । जसमा अपराध महाशाखाका प्रहरी पनि सामेल थिए । त्यो टोलीले तस्करीको सुन बरामद र्गयो, तर निर्मलाका हत्यारा पत्ता लगाउन सकेन । अहिले पनि इन्स्पेक्टरको नेतृत्वमा सिआइबीबाट एक टोली कञ्चनपुरमा खटिएको छ ।
यसबाहेक प्रहरीबाट भएका कमजोरी पत्ता लगाउन अन्य तीन टोली गठन भए । गृह मन्त्रालयले सुरुमा सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा छानबिन समिति गठन ग¥यो । त्यसले पनि अनुसन्धानलाई कुनै सहयोग भएन । पछि प्रहरीबाट एआइजी धीरु बस्नेतको नेतृत्वमा अर्काे छानबिन टोली गठन भएको थियो । त्यस्तै राष्ट्रिय मानवअधिकार आयोगले पूर्वनायब महान्यायाधिवक्ता नरेन्द्र पाठकको संयोजकत्वमा टोली खटाइएको थियो ।
अहिलेसम्म प्रहरीले पाँच सयभन्दा धेरैलाई सोधपुछ र १० हजारभन्दा धेरै कल डिटेलको अध्ययन गरिसकेको छ । यतिञ्जेल कुनै सुराक हात नपरे पनि प्रहरी भने अझै आशावादी छ । ‘वर्षौँपछि पनि नेपाल प्रहरीले ठूला घटनाका अभियुक्त पक्राउ गरेको छ,’ प्रहरी प्रवक्ता डिआइजी विश्वराज पोखरेल भन्छन्, ‘यो घटनामा पनि अनुसन्धान सफल हुन्छ भन्नेमा हामी विश्वस्त छौँ ।’
आठ प्रहरीविरुद्ध मुद्दा, १० माथि विभागीय कारबाही
यो प्रकरण अनुसन्धानमा प्रमाण नष्ट गरेको तथा निर्दाेषलाई यातना दिएको अभियोगमा आठ प्रहरी मुद्दा खेपिरहेका छन् । सेवाबाट हटाइएका एसपी दिल्लीराज विष्ट र इन्स्पेक्टर जगदीश भट्टसहित अवकाशप्राप्त डिएसपी ज्ञानबहादुर सेठी, निलम्बित डिएसपी अंगुर जिसी, इन्स्पेक्टर एकेन्द्र खड्का, सइहरू रामसिंह धामी, हरसिंह धामी र प्रहरी जवान चाँदनी साउदविरुद्ध सार्वजनिक न्यायविरुद्धको कसुर मुद्दा दायर भएको छ ।
निर्मलाको सम्झनामा चिल्ड्रेन पार्क
सरस्वती माध्यमिक विद्यालय कक्षा ९ मा अध्ययनरत निर्मला पन्तको सम्झनामा विद्यालयकै प्रांगणमा चिल्ड्रेन पार्क निर्माण भइरहेको छ । भीमदत्त २ का वडाध्यक्ष डम्बर कार्कीले निर्मलाको सम्झनामा गत आर्थिक वर्ष ०७५–७६ देखि चिल्डे«न पार्क निर्माण भइरहेको बताए । उनका अनुसार दुई कट्ठा जमिनमा पर्खाल निर्माण गरिएको छ । यस वर्षदेखि पार्क निर्माणको काम शुरु हुने अध्यक्ष कार्कीले बताए । पार्कभित्र बालबालिकाको मनोरञ्जनका साधन राखिने छन् ।
नेपालको डिएनए परीक्षणमै मुख्य प्रश्न : अपराध अनुसन्धान सुल्झाउने होइन, बल्झाउने प्रविधि
निर्मलामाथि अपराध : ८० जनाको डिएनए परीक्षण, तैपनि नमुना कसैसँग मिलेन, किनकी
कारण १– प्रयोगशालाकै कमजोरी स् निर्मलाको शरीरबाट संकलित डिएनए नमुना नेपाल प्रहरीको केन्द्रीय विधिविज्ञान प्रयोगशालामा ल्याएर परीक्षण गरिएको थियो । बलात्कारजस्तो अपराधमा पीडितको गोप्य अंगमा कपासजस्ता वस्तुबाट संकलित नमुनालाई मुख्य आधार बनाइन्छ । त्यसमा पीडितको होइन, पीडकको डिएनए छ कि छैन भन्ने पहिले यकिन गरिन्छ । निर्मलाको शवबाट संकलित भनिएको नमुनामा उनको आफ्नै डिएनएको ठूलो अर्थ छैन । पुरुषको डिएनए भेटियो कि भेटिएन भन्ने महत्वपूर्ण हो ।
संकलित नमुना प्राप्त गरेपछि प्रहरीको प्रयोगशालाले पुरुषको डिएनए भेट्टाएको थियो । निर्मलाको अपराधमा पुरुषको डिएनए भेटिनुको अर्थ थियो । उनीमाथि कुनै पुरुषले बलात्कार गरेका थिए । तर, कुन पुरुषले भन्ने प्रश्न नै जटिल हो । नेपालमा यस्तो अपराधमा संदिग्ध पुरुषको डिएनए परीक्षण गर्ने र अपराधी पत्ता लगाउने दुई प्रविधि छन्– पहिलो हो अटोजोमल एसटिआर । यो प्रविधिअन्तर्गत पीडितको शरीरबाट संकलित नमुनाबाट पीडकको डिएनए अलग गरिन्छ ।
पीडकको डिएनएलाई २३ जोडी क्रोमोजोममा छुट्याइन्छ । एउटा क्रोमोजोमबाट पीडक महिला वा पुरुष को हो भन्ने छुट्टिन्छ । बाँकी २२ जोडी क्रोमोजोम सम्बन्धित व्यक्तिको क्रोमोजोमसँग शतप्रतिशत मिल्नुपर्छ । किनकि, एक व्यक्तिको क्रोमोजोम अर्को व्यक्तिसँग मिल्दैन । त्यसैले यो विश्वसनीय प्रविधि मानिन्छ ।
तर, प्रहरीले निर्मलाको शवबाट प्राप्त पुरुषको डिएनए परीक्षण यो प्रविधिबाट गर्न सकेन । किनकि, यो परीक्षणका लागि पीडितको शरीरबाट संकलित नमुनाको १० मा १ हिस्सा पीडकको हुनुपर्छ । तर, प्रहरी सीधै यता लाग्नुको सट्टा वाई–एसटिआर प्रविधितर्फ लाग्यो । यो प्रविधि मूलतः बाबु र सन्तानको वंशाणुगत नाता साबित गर्न प्रयोग हुने हो । यो प्रावधानमा दुई नमुनाको मेल शतप्रतिशत नभए पनि पुग्छ । तर, प्रहरी यही प्रविधिमा अलमलियो ।
त्यति मात्र होइन, संकलित नमुना पनि यही परीक्षणमा क्षयीकरण हुँदै गयो । जब प्रहरीलाई अटोजोमल प्रविधिबाटै परीक्षण गर्नुपर्छ भन्ने महसुस भयो, त्यतिन्जेलसम्म पीडित र पीडकको १० मा १ हिस्सा नमुना पनि नष्ट भइसकेको थियो । प्रहरीले यो प्रक्रिया अवलम्बन गर्न खोज्दा पनि असफल भयो । राष्ट्रिय मानवअधिकार आयोगले अटोजोमल प्रविधिबाट डिएनए परीक्षण नगरेकाले कमजोरी भएको उल्लेख गरेको छ ।
कारण २– नमुना संकलनमै त्रुटि स् निर्मलाको शरीरबाट संकलित नमुनामा पुरुषको डिएनए पनि भेटिएको थियो । त्यही आधारमा उनलाई बलात्कार गर्ने अपराधी भेटिनुपर्ने हो । तर, ८० जना शंकास्पदको डिएनए परीक्षण गर्दा मेल खाएको छैन । त्यसैले डिएनएको नमुना संकलनमै त्रुटि भएको हुन सक्ने एउटा आधार छ । डिएनए भनेको शरीरको कुनै मांसपिण्ड होइन, कोष पनि होइन, कोषभित्रको पनि एउटा अत्यन्तै सूक्ष्म तत्व हो ।
यस्तो कोष रगत, वीर्य र थुक मात्र होइन, नङ र कपालको जराको सानो भागमा समेत हुन्छ । त्यसैले नमुना संकलन गर्दा अपराध गर्ने मात्र होइन, लास उठाउने सुरक्षाकर्मी र नमुना संकलन गर्ने डाक्टरको पनि नमुना छिर्न सक्ने सम्भावना हुन्छ । त्यसैले निर्मलाको अनुसन्धानमा पनि यस्तै तेस्रो व्यक्तिको डिएनए संकलन भएको र नतिजा फरक आएको हुन सक्ने सम्भावना पनि छ ।
नेपालमा डिएनए नै सर्वमान्य होइन, गोदामचौर घटनामा डिएनए मिलेन, तर सामूहिक बलात्कारका अपराधी साबित भए
निर्मला घटनामा प्रहरीले डिएनएलाई नै अनुसन्धानको प्रमुख आधार मानेको छ । यो घटनामा सर्वसाधारणले पनि डिएनएबाहेक अन्य प्रमाण नमान्ने अवस्था सिर्जना भएको छ । तर, ललितपुरको गोदामचौर सामूहिक बलात्कार घटनामा डिएनए मेल नखाँदा पनि अपराध साबित भएको छ ।
पीडित युवतीको साबिती बयानलाई नै आधार बनाएर जिल्ला अदालत ललितपुरले दोषी ठहर गरेको थियो । गत १८ फागुनमा न्यायाधीश धनसिंह महराको इजलासले अभियुक्तहरू रघु सिलवाल, पवन कुँवर, विशालध्वज कार्कीलाई १०–१० वर्ष कैद सजाय सुनाएको छ । उनीहरू कारागारमा छन् ।
२ मंसिर ०७४ मा घर फर्कने क्रममा गोदामचौरकी युवतीमाथि सामूहिक बलात्कार भएको थियो । ढुंगाले टाउकोमा हानेर बेहोस बनाई बलात्कार गरिएको थियो । भोलिपल्ट बेहोस अवस्थामा उनलाई भेटिएको थियो । शिक्षण अस्पतालमा सात दिनपछि होसमा आउनासाथ उनले तीनजना युवाको नाम लिएकी थिइन् ।
पछि समूहमा मिसाएर उभ्याउँदा पनि पीडितले तीनजनालाई पहिचान गरेकी थिइन् । यसैलाई मुख्य आधार बनाएर अदालतले आरोपीलाई अपराधी साबित गरेको छ । तर, यो घटनामा आरोपीहरूको डिएनए भने मेल खाएको छैन । डिएनए रिपोर्ट नमिलेकै आधारमा थुनछेक आदेशको क्रममा जिल्ला अदालत ललितपुरले उनीहरूलाई तारेखमा छाडेको थियो । यही वेला आरोपीहरू भागेका थिए । भारतमा बस्दै आएका उनीहरू सुटुक्क घर आएको वेला गोठबाट पक्राउ परेका थिए । यो घटनाले पनि नेपालमा डिएनएको नमुना संकलन र परीक्षणमा समस्या छ भन्ने प्रस्ट हुन्छ ।
नेपालमा १४ वर्ष भयो डिएनए परीक्षण, प्रहरीमा मात्रै पाँच सय डिएनए परीक्षण, तर डिएनएकै कारण एउटा पनि अनुसन्धान सुल्झेको छैन
नेपालमा १४ वर्षअघि राष्ट्रिय विधिविज्ञान प्रयोगशालाले सन् २००५ मा डिएनए परीक्षण सुरु गरेको हो । त्यस्तै, नेपाल प्रहरीले पनि डिएनए परीक्षण गर्न थालेको चार वर्ष भएको छ । ०७२ को भूकम्पमा मृत्यु भएकाहरूको शव पहिचानका लागि प्रहरीले पहिलोपटक डिएनए परीक्षण गरेको थियो ।
प्रहरीले मात्र वर्षमा सयभन्दा बढी डिएनए परीक्षण गर्दै आएको छ । यसरी चार वर्षमा प्रहरीले मात्र पाँच सय डिएनए परीक्षण गरेको छ । बाबु र सन्तानको वंशाणुगत नाता साबित गर्न यो प्रविधिले सहयोग गर्दै आएको छ । तर, हत्या र बलात्कारजस्ता जघन्य अपराधमा यो प्रविधिले अहिलेसम्म एउटा पनि अपराध समाधान भएको छैन । बरु डिएनए नमिलेर कतिपय आरोपी भने छुटेका छन् ।
राष्ट्रिय विधिविज्ञान प्रयोगशालाका विज्ञ दिनेशकुमार झाका अनुसार दुई वर्षअघि बलात्कार आरोपमा पक्राउ परेका बर्दियाका एक व्यक्ति डिएनए नमिलेपछि छुटेका थिए । तर, त्यो विषयमा समाजमा खासै चर्चा नभएकोले प्रहरी अनुसन्धान र डिएनए परीक्षणमाथि पनि प्रश्न उठेन । निर्मला पन्तको विषयमा नागरिक आवाज बलियो भएको छ, त्यसैले चर्चा भएको छ । तर, नागरिकको आवाज कमजोर हुँदा हजारौँ अपराध अन्धकारमै गुमनाम भएका छन् ।
आमा भन्छिन्, ‘ज्यालादारीमा पियन हुन गएँ, जागिर खाई भनेर मान्छेले गाली गर्छन्’
निर्मला पन्तको परिवारले अब न्यायको आशा नरहेको बताएको छ । निर्मलाकी आमा दुर्गादेवीले छोरीको हत्या भएको एक वर्ष बितिसक्दा पनि दोषी पत्ता नलाग्दा आफूले आशा मारिसकेको बताइन् ।
‘एक वर्ष बितिसक्यो, अब न्यायको आशा छैन,’ उनले भनिन् । निर्मलाका बुबा यज्ञराजले भने सरकारकै कारण हत्यारा पत्ता लाग्न नसकेको बताए । ‘अब छोरीको हत्यारा भेटिँदैन, न्याय पाउने आसै छैन,’ उनले भने, ‘घटनाको अनुसन्धानदेखि घाइतेको उपचारसम्म सरकारले लापरबाही गरेको छ ।’
आफू जताबाट पनि पीडामा रहेको भन्दै दुर्गादेवीले छोरी गुमाएको पीडा अझै बिसेक नभएको सुनाइन् । ‘हरेक दिन खाना पकाउने वेला निर्मलाको याद आउँछ,’ उनले भनिन्, ‘खान मनै लाग्दैन । मलाई जताबाट पनि पिरैपिर छ । पहिले श्रीमान्ले छाडे, छोरी गुमाएँ । अहिले कसैले नोकरी खाई भन्छन्, कसैले सरकारले पैसा दिएपछि चुप लागी भन्छन्
। मेरो दुःख मैसँग छ ।’
निर्मलाको बलात्कारपछि हत्याको अभियोगमा प्रहरीले सुरुमै सार्वजनिक गरेका भीमदत्त–१९ बाँगफाँटाका ४१ वर्षीय दिलीपसिंह विष्टप्रति अझै आफूलाई शंका लाग्नेगरेको दुर्गादेवी बताउँछिन् । ‘उनको बयान र घटनाक्रम धेरै मिलेको छ, मलाई ऊप्रति शंका छ,’ उनले भनिन् । अनुसन्धानमा खटिएका आठ प्रहरीविरुद्ध आफ्नो खुसीले मुद्दा नहालेको उनले बताइन् । ‘केही अधिकारकर्मीले न्याय पाइन्छ भनेपछि दस्तखत गरेकी हुँ,’ उनले भनिन् ।
अहिले दुर्गादेवी भीमदत्त नगरपालिका–२ उल्टाखाममा दुई छोरीका साथ बस्छिन् भने यज्ञराज दोस्री पत्नीका साथ भीमदत्त–१ भाँसीमा बस्छन् । राहतको विषयमा निर्मलाको परिवारमा झगडा भएपछि दुर्गादेवीले ढिलागरी राहत रकम बुझेकी थिइन् । असारदेखि उनलाई नगरपालिकाले दैनिक ज्यालादारीमा कार्यालय सहयोगीको रोजगारी दिएको छ । नयाँ पत्रिका दैनिकबाट