विराटनगर, २२ चैत । लकडाउन’ उलंघन रोक्न खोज्दा मोरङको पथरीशनिश्चरे नगरपालिका–१ मा नेपाली कांग्रेसका स्थानीय नेतामाथि छुरा प्रहार भएको छ ।
कांग्रेसका पूर्व क्षेत्रीय सदस्य ६५ वर्षीय दिलिप तामाङमाथि शुक्रबार साँझ ७ बजेतिर छुरा प्रहार भएको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी दिलिप गिरीले बताए ।
विश्वभर महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमण फैलन नदिन नेपाल
सरकारले गरेको लकडाउन उल्लंघन हुने क्रम बढेपछि स्थानीयस्तरमा तामाङले
त्यसलाई रोक्ने काम गरेका थिए ।
डीएसपी गिरीका अनुसार लकडाउनको समयमा
सवारी साधन कुदाउने, हिंडडुल गर्ने क्रम बढेपछि तामाङले सडकमा बाँस
तेस्र्याएर त्यसलाई रोक्ने प्रयास गरेको पाइएको छ ।
त्यही विषयलाई लिएर स्थानीय २८ वर्षीय विजय लिम्बूसँग उनको विवाद भएको थियो । मादक पदार्थ सेवन गरेका लिम्बूले विवादकै क्रममा छुरा प्रहार गरेर तामाङलाई घाइते बनाएको जानकारी डीएसपी गिरीले दिए ।
छुरा प्रहारबाट तामाङको बायाँ छात्तीमा गहिरो चोट लागेको छ । उनको विराटनगरको नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था खतरामुक्त रहेको जानकारी चिकित्सकले गराएको प्रहरीले जनाएको छ ।
छुरा प्रहार गर्ने लिम्बूलाई भने भाग्दै गर्दा घटनास्थल नजिकैबाट पक्राउ गरेर घटनाका बारेमा अनुसन्धान गर्ने काम भइरहेको डीएसपी गिरीले जानकारी दिए । प्रहरीका अनुसार छुरा प्रहार गर्ने युवा र घाइते दुवै जना चिनजानकै हुन् । अन्नपूर्ण पोष्टबाट