‘मान्छे मरेपछि कोरोना पुष्टि हुने एक मात्र देश नेपाल’

काठमाडौं । प्रतिनिधिसभाका सांसदहरुले सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि मिश्रित प्रतिक्रिया दिएका छन् । सोमबार नीति तथा कार्यक्रमको छलफलमाथि भाग लिँदै प्रतिपक्षी दलका सांसदहरुले जन अपेक्षा अनुसार नीति तथा कार्यक्रम नआएको बताएका छन् ।

समाजवादी पार्टीकी सांसद रेणु कुमारी यादवले कोरोनाबाट ज्यान गुमाएकी महिलाको शव सरकारले उठाउन नसकेको भन्दै आलोचना गर्नुभएको छ । नीति तथा कार्यक्रममाथिको छलफलमा आफ्नो धारणा राख्दै उहाँले नेताहरुले ठूला कुरा गरेपनि कोरोना महामारीको संकटसँग जुट्ने हिम्मत नगरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘कोरोनाबाट मृत्यु भएकी महिलाको शव उठाउन पनि सरकारले हिम्मत देखाएन । स्वयंसेवकले शव उठाएर पशुपति आर्यघाटमा पुर्याए । यहाँ ठूलाठूला कुरा गरिरहेका छन् । हाम्रो सरकारले सारा तयारी गरेको छ भनिरहेका छन् । अहिले मधेशमा क्वारेन्टाइन छैन । मरेपछि कोरोना पुष्टि हुने एकमात्र देश नेपाल हो । विश्वको इतिहासमा एक नम्बर नेपाल हो ।’

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद शेरबहादुर तामाङले गाँजा खेतीलाई कृषिसँग जोड्न सके आर्थिक उपार्जनको बाटो खुला हुने बताए । स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्दै कृषिलाई दोस्रो प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here