६ खर्ब ९५ अर्ब ८० करोड रुपैयाँ कुल लगानी अनुमान
सरकारले २ फागुनबाट विधिवत् रूपमा ‘जनताको जलविद्युत् आयोजना’ कार्यक्रम सुरु गर्दै छ । ‘नेपालको पानी, जनताको लगानी, हरेक नेपालीलाई विद्युत्को सेयरधनी’ नाराका साथ अघि बढाउन लागिएको कार्यक्रमको बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले शुभारम्भ गर्दै छन् ।
यस कार्यक्रमअन्तर्गत सरकारले जलविद्युत् उत्पादनको सम्भावना रहेका ६ वटा प्रदेशमा पहिचान भएका ३ हजार ४ सय ७९ मेगावाट बराबरका १९ आयोजना अघि बढाउने ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले बताए ।
६ खर्बभन्दा बढी लगानी
यी आयोजनामा प्रतिमेगावाट करिब २० करोडका दरले झन्डै ७ खर्बभन्दा बढी लगानी
हुने देखिन्छ । यी आयोजनामा नेपाली नागरिकबाट सेयरमार्फत १ खर्ब २ अर्ब
रुपैयाँभन्दा बढी लगानी उठाइने लक्ष्य छ । त्यस्तै, आयोजनाका लागि ४ खर्ब
८७ अर्ब (७० प्रतिशत) ऋण चाहिने अनुमान गरिएको छ ।
पूर्वऊर्जामन्त्री जनार्दन शर्माले ‘जनताको पानी जनताको लगानी’ भन्ने नाराका साथ विदेशमा बस्ने नेपालीसमेतलाई सेयर दिएर जनताको लगानीमा विद्युत् विकास गर्ने अवधारणा ल्याएका थिए । यद्यपि, सो अवधारणाअनुसार जनताको लगानी कार्यक्रमले कार्यान्वयन हुने अवसर पाएको भने थिएन ।
