पशुपति शर्माले ‘लुट्न सके लुट कान्छा’ किन हटाए, गीतमा माफी माग्नैपर्ने त्यस्तो के छ ?

काठमाडौं, ५ फागुन । नेपालको पछिल्लो राजनीतिक परिवेशलाई व्यंग्य गर्दै चर्चित लोकदोहोरी गायक पशुपति शर्माले सार्वजनिक गरेको नयाँ गीत ‘लुट्न सके लुट कान्छा, अरू देशमा पाइन्दैन नेपालमै हो छुट’ युट्यूबबाट हटाएका छन् । स्रोतका अनुसार गायक शर्माले सत्ता रुढ दल निकट युवा संघको दबाबमा गीत हटाएका हुन् ।

गीत भाइरल भएपछि नेकपा कार्यकर्ताहरूले सामाजिक संजालमा पशुपति शर्मा बहिस्कार अभियान चलाएका थिए । शब्द, संगीत र स्वर गायक शर्मामा आफ्नै रहेको गीतमा देशमा चलिरहेको भ्रष्टाचार , हत्या, हिंसा र बलात्कार जस्ता विषयलाई पशुपतीले गीतमा निकै कडा रुपमा प्रस्तुत गरेको थिए ।

गीतमा के छ ?
व्यंग्यात्मक शैलीमा गीत बनाउन खोजे पनि उनको गीतमा प्रयोग भएका केहि शब्द सिधै आक्रमक छ । जसले कुनै राजनीतिक दल र संस्थालाई रुष्ट बनाएको देखिन्छ । शर्माको गीतमा सरकारलाई यमराज र राजनीतिक दलका कार्यकर्तालाई कुकुर भनेर सिधै सम्बोधन गरिएको छ ।

शुक्रबार रिजिल भएको उक्त गीतमा प्रयोग भएका केही शब्दमा विवाद सिर्जना गरेकाले आफूले अहिले अपलोड भएको गीत हटाएर परिमार्जन गर्ने उनले बताएका छन् ।

शर्माको गीतका केही अंश

गणतन्त्र ल्याएँ भन्छन्
फाल्यौँ भन्छन् राजा
त्यही फालेका राजा जस्ता
कयौँ निस्के आज
जनताको मुटुभित्र काँडा कति कति
डेढ अर्बको हेलिकप्टर चढ्छिन् राष्ट्रपति

वाइडबडी जहाज किने रे लुट्नैसम्म लुटे
सुन काण्ड खै कहाँ पुग्यो जेलमै छन् कि छुटे
ठूलै नेता भ्रष्टाचारी न नडराउन छन् न लुक्छन्,
कार्यकर्ता केही बोल्दैनन् कुकुर जस्तै भुक्छन् ।

हजुर बा नि यसै मरे, बाउ नि यसै मर्छन् ।
हाम्रो पनि त्यही हो गति विकास कहिले गर्छन् ।
गर्ने काम केही होइन ठूला ठूला भाषण,
स्वर्ग जस्तो देशमा हजुर यामराजको शासन !

सार्वजनिक तथा सरकारी निकायमा भ्रष्टचारका कयौँ घटनाहरू सार्वजनिक भइरहेका बेला शर्माले यही विषयलाई गीतमार्फत छेड गरेका छन् । गीतमा सरकारला ठूलै नेता भ्रष्टाचारी नडराई खुलेआम गर्ने गरेको समेटिएको छ ।

मास्ट डिग्री सकेर पनि जागिर खान नसकेको एक युवालाई अर्का एकजनाले लुट्न ‘प्रेरित’ गरिरहेको कथा गीतमा छ। सरकारी स्कुलमा जागिर खाने शिक्षकले आफ्ना सन्तान भने निजी स्कुल (बोर्डिङ) मा पढाएको, सरकारी अस्पतालको डाक्टरले निजी क्लिनिकमा बिरामी बोलाएको, सुब्बा तहको कर्मचारीले दुई वर्षमै घर ठड्याएको गीतका समेटिएको छ ।

पशुपति शर्माले माफी माग्दै के भने ?
केही राजनीतिक दबाब आएपछि उनले फेसबुमा माफी माग्दै उक्त भिडियो हटाएको प्रस्टोक्ति दिएका छन् । राजनैतिक आग्रह या पूर्वाग्रह पालेर गीत नबनाएको र कुनै राजनैतिक दल या संस्थासंग कुनै किसिमको आफ्नो पूर्वाग्रह नरहेको उनले बताएका छन् ।

उनले लेखेका छन्, ‘सुझाव दिनुहुने राजनैतिक ब्यक्तित्व हरु, मेरा अग्रज एवं समकालीन साथीहरुलाई म धन्यवाद दिन चाहन्छु साथै कुनै शब्दले कुनै संस्था विशेष या कुनै दल अथवा समुदाय विशेषलाई अफ्ट्यारो पारेको खण्डमा म अन्तर हृदयदेखि माफी चाहन्छु । मेरो नियत कसैको चित्त दुखाउने नभई केवल विसंगतिमाथि प्रहार गर्नु र विकृतिको उजागर गर्नु मात्र थियो यसमा म पुनस् प्रष्ट पार्न चाहन्छु ।’

उनले फेसबुमा लेखेको स्टाटस जस्ताको जस्तै –
आदरणीय श्रोता एवं दर्शकवृन्द साथै मेरा प्यारा शुभचिन्तकज्यूहरुमा सादर नमस्कार ! हिजो रिलिज भएको मेरो “लुट्न सके लुट कान्छा” भन्ने गीतमा यहाँ हरुले देखाउनु भएको सहभागिताको लागि हार्दिक आभार ब्यक्त गर्न चाहन्छु । तर सोही गीतमा प्रयोग भएका केही शब्दहरुलाई लिएर विरोध सिर्जना गर्न खोजिएकाले म आफ्नो कुरा यहाँहरु समक्ष राख्न गइरहेको छु ।

सर्वप्रथम त म यहाँहरुलाई जानकारी गराउन चाहन्छु कि म राजनीतिलाई त्यति गहिराइबाट बुझ्दिन । तर सुशासन कायम हुनुपर्छ र देशमा विसंगति ब्याप्त हुनु हुदैन भन्ने कुरामा म सचेत छु । मेरो गीतले बिसंगतिलाई ब्यंग्य गरोस् भन्ने मेरो एकमात्र ध्यय थियो । मैले कुनै राजनैतिक आग्रह या पूर्वाग्रह पालेर त्यो गीत बनाएको पनि हैन र कुनै राजनैतिक दल या संस्थासंग मेरो कुनै किसिमको पूर्वाग्रह पनि छैन । तर गीतमा समावेश केही शब्दहरुमा मेरा केही शुभचिन्तकहरुको असन्तुष्टि रहन गएकोले जुन जुन शब्दमा असन्तुष्टि देखियो म ती शब्दहरुलाई परिमार्जन गर्न गइरहेको छु ।

केही समय लाग्ला जुन शब्दमा असन्तुष्टि देखियो ती शब्दहरुलाई फेर्नु मेरो पनि दायित्व हो भन्ने सम्झिएको छु । सुझाव दिनुहुने राजनैतिक ब्यक्तित्व हरु, मेरा अग्रज एवं समकालीन साथीहरुलाई म धन्यवाद दिन चाहन्छु साथै कुनै शब्दले कुनै संस्था विशेष या कुनै दल अथवा समुदाय विशेषलाई अफ्ट्यारो पारेको खण्डमा म अन्तर हृदयदेखि माफी चाहन्छु । मेरो नियत कसैको चित्त दुखाउने नभई केवल विसंगतिमाथि प्रहार गर्नु र विकृतिको उजागर गर्नु मात्र थियो यसमा म पुनः प्रष्ट पार्न चाहन्छु ।

अहिले डिजिटल प्लेटफर्म युट्युबमा रहेको गीतलाई परिमार्जनसहित पुनस् लिएर आउने बाचा गर्दै अहिले बजिरहेको गीत युट्युबबाट मैले हटाउने निर्णय गरेको छु । र अन्त्यमा म पनि यही देशको एक सचेत नागरिक साथै कलाकार भएको नाताले देशमा बिद्यमान भ्रष्टाचार, घुसखोरी र जिम्मेवारहरुको अकर्मण्यताबिरुद्द आवाज उठाउन पाउने मेरो नैसर्गिक अधिकार हो भन्ने कुरामा म दृढ रहेको कुरा पनि दोर्होयाउन चाहन्छु ।
धन्यवाद ।
– पशुपति शर्मा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here