कांग्रेसमा वाकयुद्ध: ‘कोइराला हुनेबित्तिकै सभापति भइहाल्नुपर्ने’

वीरगञ्ज । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्रै कोइराला परिवारविरुद्ध वाकयुद्ध छेडेका छन् । पार्टीको महाधिवेशन नजिकिँदै गर्दा सभापतिमा कोइराला परिवारले उम्मेदवार उठाउने चर्चा चलिरहेका वेला देउवा आक्रामक रूपमा प्रस्तुत भएका हुन् ।

सभापति देउवाले पार्टी कोइराला परिवारको बपौती नभएको बताएका हुन् । कोइराला परिवारका तीन नेताहरू महामन्त्री शशांक कोइराला, केन्द्रीय सदस्यद्वय शेखर कोइराला र सुजाता कोइरालाले आफूहरू भावी नेतृत्वका लागि एकजुट भएको बताएका थिए । उनीहरू वीरगञ्जमा जिपी फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा एउटै मालामा उभिदै देउवाविरुद्ध आक्रोश पोखेका थिए । तीनैजना नेताले सभापति देउवाका कारण पार्टी कमजोर बनेको, निर्वाचन हारेको आरोप लगाउँदै अब बलियो बनाउन एक भएको जिकिर गरेका थिए । कोइराला परिवारले देउवाविरुद्ध अभिव्यक्ति दिएको ठाउँ वीरगञ्जमै दलबलसहित पुगेर देउवाले पनि कोइराला परिवारलाई गम्भीर आक्षेपसमेत लगाएका छन् ।

कांग्रेस पर्साले गरेको जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै सभापति देउवाले कांग्रेस पार्टी कोइराला परिवारको बपौती नभएको बताएका हुन् । ‘कोइराला थर हुँदैमा पार्टी सभापति नै बन्न पाउनुपर्छ भन्ने तर्क नाजायज हो’, उनले भने, ‘कोइराला थर छ भन्दैमा पार्टी सभापति बन्न पाउनै पर्छ भनेर भन्न पाइन्छ ?’ सभापति देउवाको यो अभिव्यक्ति आगामी महाधिवेशनको नेतृत्वमा अहिलेदेखि नै बहस सुरु भएको हुन सक्ने बताइन्छ ।

‘कांग्रेस पार्टीमा विश्वेश्वरप्रसाद कोइराला र गिरिजाप्रसाद कोइरालाको योगदान छ, यो हामीले पनि स्वीकार्छौं’, देउवाले भने, ‘तर यो पार्टीमा बिपी र जिपीका छोरा भतिजाको कुनै योगदान नै छैन । जसले पार्टीमा योगदान नै दिएका छैन, पार्टीमा केही गरेकै छैन, उसैले कार्यकर्तामाझ जथाभावी बोल्दै हिँड्दै छन् ।’ नेता कार्यकर्ताको भिडको माझमा सभापति देउवाले नेता शेखर कोइरालाको नाम नै किटेर जथाभावी बोल्दै हिँडेको आरोप लगाए । ‘पार्टीका लागि शेखरको योगदान के छ ? पार्टीका लागि उनी कहिले कति दिन जेल बसेका छन् ? मण्डलेहरूले मेरो टाउको फुटाउँदा र म जेल बस्दा शेखर कहाँ थिए ?’, देउवाको प्रश्न थियो, ‘पार्टीका लागि कुनै योगदान नै नगर्ने अनि अहिले कोइरला थर भयो भन्दैमा पार्टी सभापति नै बन्न पाउनुपर्छ भनेर शेखरले जथाभावी बोल्दै हिँडेका छन् ।’

पार्टीविरुद्ध जथाभावी बोल्दै हिँड्ने शेखरलाई कारबाही गर्ने चेतावनी पनि उनले कार्यक्रममा दिए । शेखरविरुद्ध अभिव्यक्ति दिएलगत्तै सभापति देउवाले पार्टीमा अराजकता र अनुशासनहीनता बढ्दै गएको भन्दै अन्तरघातीलाई कारबाही गरिने बताए । अनुशासनहीन र अन्तरघातीकै कारण विगतको निर्वाचनमा कांग्रेसले होर व्यवहोर्नु परेको बताउँदै सभापति देउवाले त्यस्तालाई कारबाही नभएसम्म कांग्रेस अब अगाडि बढ्न नसक्ने भनाइ राखे ।

वीरगञ्ज आर्थिक नगरी मात्र नभएर नेपालको लाइफलाइनसँगै क्रान्ति सुरु भएको जिल्ला भएको चर्चा गर्दै उनले यस्तो ठाउँबाट कांग्रेस हार्नुमा निकै दुःख लागेको बताए । अन्तरघातकै कारण हार व्यहोरेको पार्टीले अब फेरि पनि जित्नुपर्ने उद्देश्यका साथ पार्टीलाई सशक्त बनाउँदै लैजान निर्देशनसमेत दिए । ‘भोटको वेला मात्र भोट माग्न जाने होइन, पिरमर्का र जनताको घरदैलोमा पुगेर दुःखसुखमा पनि सहभागी बन्नुपर्छ,’ उनले भने ।

‘जबसम्म अन्तरघातीलाई कारबाही हुँदैन, तबसम्म पार्टीको भविष्य पनि हुन्न’, उनले भने, ‘अन्तरघाती र अनुशासनहीन नेतालाई कुनै पनि हालतमा कारबाही हुनैपर्छ र त्यो समय पनि अब आइसकेको छ, म त्यसका लागि तयार छु ।’ कार्यक्रममा देउवा पक्षकै नेता एवं सह–महामन्त्री डाक्टर प्रकाश शरण महतले पनि नेताहरूमा पार्टीको अनुशासन तोड्ने र अन्तरघात गर्ने प्रवृत्ति हाबी हुँदै गएको बताए । जिल्ला सभापति अजयकुमार द्विवेदीको सभापत्विमा भएको कार्यक्रममा केन्द्रीय सदस्य अजय चौरसिया, फरमुल्लाह मन्सुर, गगन थापा, सुरेन्द्र चौधरी, रमेश रिजाल लगायतले सम्बोधन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here