सहमति नभए हिन्दु राष्ट्र सडकबाटै घोषणा गर्छाैँ– अध्यक्ष थापा

मोरङ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले सडकबाटै हिन्दु राष्ट्र घोषणा गर्ने चेतावनी दिएका छन् । मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्राका क्रममा मोरङ आइपुगेपछि विराटनगरमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले हिन्दु राष्ट्रमा सहमति गर्न आग्रह गर्दै अन्यथा सडकबाट घोषणा गर्ने चेतावनी दिएका हुन् । राप्रपा कमजोर भएर उठ्न सकेन भने नेपालमा हिन्दु राष्ट्र र राजसंस्थाको एजेन्डा सदाका लागि समाप्त भएर जाने भन्दै उनले सहमतिका आधारमा संविधानमा हिन्दु राष्ट्र कायम गर्ने प्रयास जारी रहने बताए ।

हिन्दु राष्ट्रका लागि सहमति गर्न सरकार, नेकपा र नेपाली कांग्रेसलाई आह्वान गरेका उनले आफू अहिले जनसंघर्षको चरणमा रहेकाले सहमति नभए सडकबाटै हिन्दु राष्ट्र घोषणा गर्ने बताएका हुन् । २३ वर्ष अघि आमूल परिवर्तनको नाममा हिंसात्मक विद्रोह हुँदा १७ हजार मानिसको ज्यान गएको भन्दै उनले खर्बाैं रुपैयाँ बराबरको सम्पत्ति नष्ट गरेर भएको आन्दोलन पश्चात जनताले केही नपाएको टिप्पणी गरे । ‘
वर्ष अघि १२ बुँदे सम्झौताले तय गरिएको मार्ग्चित्रको प्रणालीगत कमजोरी रहेको भन्दै अध्यक्ष थापाले देशले धेरै दुस्ख पाएकाले अब पुनर्विचार गर्नुपर्ने बताए ।

हरेक पार्टीका राम्रा नराम्रा पक्षलाई केलाएर जनताले आफ्नो विवेकको अधिकार प्रयोग गरेको दिन नेपालमा विकास, परिवर्तन र समृद्धि सम्भव रहेको भन्दै अध्यक्ष थापाले हिम्मतका साथ एनसेल कर छली, सुनकाण्ड देखि हवाईजहाज खरिदसम्मका भ्रष्टाचारका दोषीलाई कारबाही प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरे ।

‘प्रधानमन्त्रीका सन्तान छैनन्, कसैका लागि सम्पत्ति कमाएर राखिदिनु पर्ने आवश्यकता पनि छैन, हिम्मतका साथ एनसेल कर छली, सुनकाण्ड देखि हवाईजहाज खरिदसम्मका भ्रष्टाचारका दोषीलाई कारबाही गर्नुस् राप्रपाले साथ दिनेछ, भ्रष्टाचारीलाई कारबाही गर्न र विखण्डनको आवाजलाई निस्तेज पार्न सक्नु भएन भने इतिहासले माफ गर्ने छैन’, उनले भने । सोही पार्टीका महामन्त्री राजेन्द्र लिङ्देनले राप्रपाको राष्ट्रिय स्वाभिमान यात्रा चुनाव केन्द्रीत नभएर देश बचाउने र देश बनाउने अभियानमा लागेको बताए ।

‘नेपालको हिन्दु राष्ट्रको पहिचान खोसेर धर्म निरपेक्षता बनाउन गिरिजाप्रसाद, प्रचण्ड र माधब नेपाल मात्रै दोषी छैनन्, धर्म निरपेक्षता बनाउने पार्टी र नेतालाई मत दिने हिन्दुहरुका हात पनि दोषी छन् । नजानेर गरेको गल्ती सच्याउन सकिन्छ, धर्मलाई धोका नदिऊँ, राप्रपाले सञ्चालन गरेको अभियान धर्म रक्षाको अभियान पनि हो’, उनले भने ।

ताप्लेजुङबाट बुधबारदेखि सुरु भएको राष्ट्रिय स्वाभिमान यात्राको तेस्रो दिन शुक्रबार मोरङका विभिन्न स्थानमा कोणसभा गर्दै विराटनगरमा आमसभामा परिणत भएको हो । यात्रा आज नै सुनसरी र सप्तरीका विभिन्न स्थानमा सभा गर्दै साँझ सिरहाको लाहान पुग्ने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here