काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले संगठनात्मक एकता टुंग्याउने दाबी गरिरहँदा पार्टी स्कुल विभागमा समस्या देखिएको छ । कार्यकर्ता प्रशिक्षणसँग जोडिएको स्कुल विभागमा पूर्वएमाले र माओवादी केन्द्र दुवैले दाबी गरेका हुन् । केहीबेरअघि प्रचण्ड निवास खुमलटारमा बसेको पूर्वमाओवादी केन्द्रको शीर्ष तहका नेताहरूको बैठकले संगठन विभाग नछाड्ने र नारायणकाजी श्रेष्ठलाई विभाग प्रमुख प्रस्ताव गरेको नेता देवेन्द्र पौडेलले जानकारी दिए ।
“अरू विभागमा पनि प्रस्तावचाहिँ तयार पारेका छौँ । टुंगो लागिसकेको छैन,” उनले बाह्रखरीसँग भने, “स्कुल विभाग सकेसम्म नछाड्ने छलफल भएको छ ।” पूर्वएमालेभित्र पनि स्कुल विभागमा समस्या छ । संस्थापन (ओली समूह)ले नेता ईश्वर पोखरेललाई बनाउने प्रस्ताव गरे पनि इतर समूहले मानेको छैन । पार्टी नीति (जनताको जनवाद) विरोधी नेताको छवि बनाएका पोखरेललाई कुनै हालतमा स्वीकार नगर्ने पूर्वमाओवादी पक्षको भनाइ छ ।