‘पार्टी एकता नगरेको भए ठिक हुने थियो कि भन्ने पनि लाग्छ’

कामाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकताका लागि चित्त नबुझेका कतिपय कुराहरुमा निर्णय लिनु पर्ने बाध्यता रहेको बताएका छन् । राष्ट्रिय चिकित्सक संघ र नेपाल प्रगतिशील चिकित्सक संघले शनिबार काठमाडौमा गरेको अन्तरक्रियामा उनले कतिपय अवस्थामा आफूलाई पार्टी एकता नगरेको भए ठिक हुने थियो कि भन्ने अनुभुति हुन थालेको बताए । 

शुक्रबार नेकपा सचिवालय बैठकले ३३ विभागलाई पूर्णता दिएको थियो । अन्य विभागको नेतृत्व टुंग्याउन खासै समस्या नभए पनि नेकपामा स्कुल विभागको नेतृत्व कसले लिने भन्ने विषयमा लामो बहस भएको थियो । जुन पदका लागि पूर्वएमालेका तर्फबाट ईश्वर पोखरेल र पूर्वमाओवादीका तर्फबाट नारायणकाजी श्रेष्ठ मुख्य दाबेदार थिए । 

अन्ततः सो विभागको जिम्मेवारी ईश्वर पोखरेलले नै पाए । त्यति मात्रै होइन, एकतापछि दाहालसँग नजिक मानिएका वामदेव गौतम पनि पछिल्लो समय ओलीसँग निकट रहेको र सोही कारण ओलीको पहलमा उनलाई विधानमै नभएको उपाध्यक्ष पद सिर्जना गरेर जिम्मेवारी दिइएपछि प्रचण्डमा ग्लानी उत्पन्न भएको आकलन गर्न सकिन्छ ।  

उनले कम्युनिष्ट पार्टीका लागि अहिले अवसर र चुनौती रहेको बताउँदै सरकारको कामलाई व्यवस्थित र प्रभावकारी बनाउनुपर्ने बताए । चिकित्सा पेसालाई मानवतासँग जोडेर हेर्नुपर्ने उल्लेख गर्दै उनले अनि मात्रै समाजवाद उन्मुख देश बनाउन सकिने दाबी गरे । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here