काठमाडौँ, १० भदौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली काँग्रेसका तर्फबाट सरकारमा सहभागी नवनियुक्त १३ जना मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराएकी छिन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको समुपस्थितिमा राष्ट्रपति भण्डारीले राष्ट्रपति कार्यालय शीतलनिवासमा आज बिहान आयोजित विशेष समारोहमा नवनियुक्त मन्त्रीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हो ।
यसरी पद तथा गोपनीयताको शपथ लिने मन्त्रीहरुमा अर्जुननरसिंह केसी, डा प्रकाशशरण महत, बालकृष्ण खाँड, केशवकुमार बुढाथोकी, गगनकुमार थापा, शङ्कर भण्डारी, सीतादेवी यादव, हृदयराम थानी, रोमी गौचन, दीपक गिरी, नवीन्द्रराज जोशी, जीवनबहादुर शाही र सूर्यमान गुरुङ छन् ।
यसअघि कांग्रेसका तर्फबाट उपप्रधान तथा गृहमन्त्रीमा विमलेन्द्र निधि र भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखक सरकारमा सहभागी भइसकेका छन् ।
कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि आफ्ना मन्त्रीहरुको पद तथा गोपनीयताको शपथग्रहण कार्यक्रममा सहभागी जनाएका थिए ।
कार्यक्रममा उपराष्ट्रपति नन्द बहादुर पुन, सभामुख ओनसरी घर्ती, उपप्रधानमन्त्री निधि, मन्त्रीहरु, प्रमुख निर्वाचन आयुक्त, तीनवटै सुरक्षा निकायमा प्रमुख, मुख्य सचिव डा. सोमलाल सुवेदी र नेपाल सरकारका विशिष्ट अधिकृतहरुको सहभागिता रहेको थियो ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड साउन १९ गते व्यवस्थापिका–संसद्बाट प्रधानमन्त्री पदमा निर्वाचित भएका थिए । उनले साउन २० गते पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए ।
नेपाली कांग्रेसको साथ र सहयोगमा प्रधानमन्त्री पदमा निर्वाचित हुनभएका दाहालले आफ्नो मन्त्रिमण्डललाई अहिले तेस्रोपटक विस्तार गर्नुभएको हो ।