राजपा र समाजवादीमा एकतासँगै फुटको तरङ्ग

काठमाडौं : सरकारले ल्याएको पार्टी विभाजन सम्बन्धी अध्याधेशबाट फुट नजिक पुगेको समाजवादी पार्टी तत्कालका लागि विभाजन हुनबाट जोगिएको छ । बुधबार राति राजपा र समाजवादी पार्टीबीच एकता भएर जनता समाजवादी पार्टी बनाउने घोषणा भएको थियो । रातारात यसरी पार्टी एकीकरण भएपछि फुटाउने कसरतमा रहेका समाजवादीका ७ जना सांसद पनि पछाडि हटेका छन् ।
 

यसअघि उनीहरु ४० प्रतिशत सांसद संख्या पुर्याएर नयाँ दल दर्ता गर्ने प्रयासमा रहेको समाचारहरु आएका थिए । त्यसको नेतृत्व उपाध्यक्ष रेणुकुमारी यादवले गरेकी थिइन् । तर अन्तिम प्रहरमा उनीहरु पार्टी नफुटाउने निर्णयमा पुगेका छन् । 

पार्टी फुट्दैन, एकताको बाँकी काम लक डाउनपछि 

यता ‘जनता समाजवादी पार्टी’का नेता राजेन्द्र महतोले लक डाउन सकिएपछि एकताको बाँकी प्रक्रिया पूरा गर्ने बताएका छन् । बिहीबार बिहान दल दर्ताका लागि निर्वाचन आयोगमा पुगेका महतोले पत्रकारहरुसँग कुरा गर्दै अहिले कोरोना भाइरसबाट जीवन रक्षा गर्ने काम प्राथमिकतामा परेकाले एकताको बाँकी काम लक डाउनपछि गर्ने बताए । उनले समाजवादी र राजपाबीच सम्मानजनक एकता भएको पनि बताए । एकतापछि पार्टीको नाम ‘जनता समाजवादी पार्टी’ राखिएको छ ।

झण्डा समाजवादीको र चुनावचिह्न राजपाको प्रयोग गर्ने सहमति भएको छ । सोमबार सरकारले दल विभाजन गर्न खुकुलो हुने गरी राजनीतिक दलसम्बन्धी ऐन अध्यादेशमार्फत संशोधन गरेपछि समाजवादी पार्टी विभाजनको अन्तिम संघारमा पुगेको थियो । अध्यादेश जारी भएपछि केन्द्रीय समिति वा संसदीय दलमध्ये एकमा मात्र ४० प्रतिशत पुर्याए दल विभाजन गर्न पाइनेछ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here