काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बुधबार बस्ने भएको छ । मंगलबार अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलपछि सचिवालय बैठक बुधबार साँझ ५ बजेका लागि बोलाइएको छ ।
मंगलबार बालुवाटारमा भएको भेटमा ओली र प्रचण्डले आफ्ना अडान राखेको र बैठक बोलाउनेबाहेक अन्य विषयमा कुनै सहमति नभएको बताइएको छ । ध्यादेश प्रकरणपछि अध्यक्ष प्रचण्ड, वरिष्ठद्वय झलनाथ खनाल र नेता माधवकुमार नेपाललगायतका नेताले सचिवालय र स्थायी कमिटी बैठक बोलाउन माग गर्दे आएका थिए । तर पार्टीभित्रनै घेराबन्दीमा परेका प्रधानमन्त्री ओलीले यसलाई आलटाल गर्दै आएका थिए ।
यसअघि सोमबार ओली र नेपालपक्षका नेताहरुको कोटेश्वरमा भएको छलफलमा पार्टीको सचिवालय बैठक मंगलबार बोलाउने अनौपचारिक सहमति भएको थियो । तर मंगलबार भने सचिवालय बैठक बस्न सकेन । अनेकपाभित्र विवाद बढेपछि अहिले विभिन्न गुटका बैठक र छलफलले राजनीति तरंगित बनाएको बेला पार्टीको सचिवालय बैठकप्रति सबैको नजर रहेको छ ।