ओली अस्त्र : बामदेव प्रधानमन्त्री र नेपाललाई तेस्रो अध्यक्षको प्रस्ताव

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको महामारी सकिएपछि उपाध्यक्ष बामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा अघि सार्दै पार्टी भित्रकै विपक्षी खेमा कमजोर पार्ने रणनिती बनाएका छन् । साथै पार्टीमा वरिष्ठ नेता माधवकुमार नेपाललाई पनि अध्यक्ष बनाउने उनको प्रस्ताव छ । नेकपामा आन्तरिक विवाद चर्किएका बेला बुधबार साँझ बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकको सुरुमै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बोल्न दिएका ओलीले बीचमा रोक्दै माधव र बामदेव बारे आफनो प्रस्ताव राखे ।

यद्यपि ओलीले अहिले प्रधानमन्त्री वा अध्यक्ष कुनै पनि पद त्याग गर्न तयार नभएको बताएका छन् । अहिले आफूले पद त्याग्नु जगहँसाइ मात्र हुने उनको तर्क छ । सरकारले राम्रो काम गरेको भन्दै ओलीले राम्रा कामको बचाऊ सबै पार्टी नेताहरुले गर्नुपर्ने बैठकमा बताए । सरकार फेर्नु नै पर्ने भए कोरोना भाइरसको संकट सकिएपछि पार्टी उपाध्यक्ष गौतमलाई प्रधानमन्त्री बनाउन आफू तयार रहेको उनले बताए । यसका लागि राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री हुनसक्ने गरी संविधान संशोधन गर्न वा प्रतिनिधिसभाको कुनै एक सिट खाली गरेर बामदेवलाई ल्याउन आफू तयार रहेको उनको भनाइ थियो ।

अहिले धरापमा पर्न लागेको पद जोगाउनका लागि मात्र उनले यस्तो अस्त्र फालेका हुन् भन्नेहरु पनि उत्तिकै छन् । किन भने विगतमा पनि उनले पटकपटक आश्वासन दिएर पूरा नगरेका धेरै उदाहरण रहेका छन् । ओलीको यो प्रस्तावपछि सचिवालयको अर्को बैठक २० गते बस्ने तय भएको छ । त्यो बैठकले स्थायी कमिटी बैठकको टुंगो लगाउने नेताहरुको भनाई छ । ओली प्रस्तावमा वामदेव, नेपाल र प्रचण्डको औपचारिक भनाई बाहिर आइसकेको छैन । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here