प्रधानमन्त्री आफैंले बोलाएको सचिवालय बैठकमा सहभागी भएनन्

१० जेठ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठकमा एमसिसीको विषयमा छलफल भएको छ । पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली बैठकमा सहभागी भएनन् । त्यसैले यसलाई अनौपचारिक बैठक भनियो । बैठकमा आज एमसिसी कार्यदलका दुई सदस्य प्रदीप ज्ञवाली र भीम रावललाई पनि बोलाइएको थियो । त्यस्तै, नेकपा नेताहरु देव गुरुङ र लिलामणी पोखरेलले पनि बैठकमा आफ्ना कुरा सुनाए ।

बैठकमा सहभागी भएका सबैले आआफ्नो कुरा राखेको श्रेष्ठले बताएका छन् । तर, उनले प्रधानमन्त्री ओली बैठकमा किन उपस्थित भएनन् भन्नेबारे केही बताएका छैनन् । खासमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई के भयो त ? उनी किन आफैंले बोलाएको बैठकमा सहभागी भएनन् ? ‘उहाँलाई केही दिन यता ठिक छैन, उहाँ आराम गरिरहनु भएको छ,’ नेकपामा प्रधानमन्त्री केपी शर्मा ओली निकट एक नेताले भने, ‘पछिल्लो समय धपेडी अलिक बढी भएको थियो । त्यही भएर पनि उहाँले आराम गर्नु भएको हुनसक्छ ।’

उनले पछिल्लो समय पार्टीमा सबै विषयमा बुझाइ एकरूप भएकाले आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी नहुनुमा कुनै मतभेद नभएको दाबी गरे । ‘अस्ति संसदमा नीति तथा कार्यक्रममाथि प्रश्नका जवाफ दिँदा पनि उहाँ उभिन सक्नु भएको थिएन,’ उनले भने, ‘चिकित्सकहरुले उहाँलाई कम्तिमा पनि केही दिन पूर्ण आराम गर्न भनेका छन् ।’ त्यसो त प्रधानमन्त्री केपी शर्मा ओलीको गत फागुनमा दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेपछि उनलाई चिकित्सकहरुले कम्तिमा पनि ६ महिना आराम गर्न सुझाएका थिए । तर, अस्पतालबाट डिस्चार्ज भएको केही दिनमा नै प्रधानमन्त्री ओली राजनीतिक भेटघाट र अन्य कार्यक्रमहरुमा व्यस्त हुन थाले ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here