ओली-प्रचण्डबीचको छलफल निष्कर्षविहिन भोलि फेरि बस्ने

काठमाडौं । पार्टीभित्र देखिएको विवाद समाधानलाई लिएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आइतवार बालुवाटारमा डेढ घण्टा छलफल भएको छ । तर छलफलमा भने कुनै सहमति जुट्न सकेन।

छलफलमा बसेका ओली र प्रचण्डले सोमबारका लागि बोलाइएको स्थायी कमिटी बैठक पहिले फेरि दुवैजना बस्ने निर्णय गरेको नेकपाका स्थायी कमिटी सदस्य जनार्दन शर्माले बताए । दुवै नेताबीच विवादित विषयमा छलफल भएको तर कुनै निर्णय भने ननिस्किएको उनले बताए। आईतबार (आज) को छलफलमा केपी शर्मा ओलीका तर्फबाट उपप्रधानमन्त्री ईश्वर पोखरेल, पार्टी महासचिव विष्णु पौडेल र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल सहभागी थिए । प्रचण्डका तर्फबाट वर्षमान पुन र जनार्दश शर्मासमेत सहभागी थिए ।

दुवै अध्यक्षबीच सबै विकल्प र सम्भावनाबारे छलफल गर्न सहमति भएको बताइएको छ । छलफलमा दुबै समूहका नेताहरु पार्टी एकतालाई बचाउन सहमति देखिएको र दुबैतर्फबाट दुरी एवं आशंका बढाउने क्रियाकलापहरु रोक्न पनि सहमत भएका बताइएको छ ।

नेकपाले स्थायी कमिटी बैठक सोमबार (भोलि) का लागि बोलाइएको छ । उक्त बैठकअघि दुवै अध्यक्षबीच निर्णायक छलफल हुने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here