जनकपुरधाम, जेठ ३१ गते ।
सडक विस्तारको क्रममा विद्यालय भवन रातारात वडाध्यक्षले डोजरले भत्काएपछि जनकपुर उपमहानगरपालिका–२१ कुर्था स्थित राजर्षीजनक माध्यमिक विद्यालयमा पठन पाठनमा समस्या भएको छ । जनकपुर वडा नं. २१ का वडाध्यक्ष रामेश्वर महासेठ सुडिले गत वैशाख १४ गते राति विद्यालयको कम्पाउण्ड सहितको भवन भत्काएपछि पठन पाठन प्रभावित भएको हो ।
सडक छेउमै रहेको विद्यालयको भवन भत्काउँदा कक्षाकोठा अभावमा निर्माणधिन र खुला जीर्ण भवनमा पठनपाठन भइरहेको छ । सडकमा सवारीसाधन गुडेर धुलो उड्नुको साथै ध्वानी प्रदुशन हुँदा ६ सय विद्यार्थीको पठनपाठन प्रभावित भएको विद्यालयका प्रधान अध्यापक वीरेन्द्रप्रसाद यादवले गुनासो गर्नुभयो ।
‘सडकमा गुड्ने सवारी साधनको होहल्ला, धूलोधूँवा, फोहोरमैला हावाले सीधै कक्षाकोठामा ल्याइदिन्छन् र प्रदूषणले शिक्षक–विद्यार्थीहरू बिरामी हुने गरेका छन्,’ शिक्षिका बन्दना वर्माले भन्नुभयो, ‘भत्किएको भवनमा पठनपाठन गराउनु पर्दा असहज भइरहेको छ ।’ उनले विद्यार्थीहरू धूँवाधूलो र फोहोरले शिक्षक बालबालिकालाई रूघाखोकी, ज्वरो, घाँटी दुख्ने बिरामी हुने गरेको बताउनुभयो । विद्यालयको ६ कोठे भवन वैकल्पिक व्यवस्थाबिना भत्काइएपछि विद्यार्थी, शिक्षक, अभिभावक र स्थानीयबासिन्दा समेत वडाध्यक्षप्रति आक्रोसित भएका छन् ।
शिशुदेखि कक्षा १२ सम्म पढाइ हुने धनुषाकै पुरानो यो विद्यालयको भवन स्थानीय बासिन्दाले २०१७ सालमा स्थापना गरेका थिए ।
विद्यालयका प्रधानाध्यापक विरेन्द्र यादवले पूर्व सूचना नै नदिई वडाध्यक्षले रातरात चारवटा कक्षाकोठा सहित कम्पाउण्ड वडाध्यक्ष महासेठले भत्काएको गुनासो गर्नुभयो । प्रअ यादवका अनुसार विद्यालय भवन भत्काउन विद्यालयको १ करोड बराबरको क्षति भएको छ ।
यता वडाध्यक्ष महासेठले सडक विस्तारका लागि विद्यालय भवन आफंै भत्काउन अनुरोधसहित प्रधानाध्यापकलाई दिएको निर्देशन बेवास्ता गरेपछि वडा कार्यालयले बाध्य भएर डोजर लगाएर भत्काउनु परेको दावी गर्नुभयो ।
सहमतिबिना विद्यालय भवन भत्काएका विरुद्ध विद्यालयका तर्फबाट प्रधानाध्यापक वीरेन्द्रप्रसाद यादवले सडक कार्यालय मुझेलियाविरुद्ध उच्च अदालत धनुषामा मुद्दा दर्ता गराउनुभएको छ । विद्यालय भवन भत्काउने वडाध्यक्षको आदेशविरुद्ध अदालतले जारी गरेको निषेधाज्ञलाई समेत बेवास्ता गर्दै जबरजस्ती भत्काइएपछि विद्यार्थी, अभिभावक, शिक्षक, शिक्षिका आक्रोसित भएका हुन् । उच्च अदालतले सडक विभागबाट ७ मिटर चौडाइको सडक कालोपत्रे गर्ने योजनाअनुरूप नापी नक्साबमोजिम केन्द्र भागबाट दायाँबायाँ नापजाँच गरी सडक कायम गर्न आदेश जारी गरेको छ ।