आवेदन दिएको २१ दिनभित्र प्रमाणपत्र धितो राखेर ऋण पाइने

काठमाडौं, ७ असोज– शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण लिन पाइने व्यवस्था आजबाट लागू भएको छ । अर्थ मन्त्रालयले ऋणमा दिइने ब्याज अनुदानसम्बन्धी कार्यविधि ल्याएसँगै आजैदेखि उक्त कार्यक्रम लागू भएको जनाएको छ । 

अर्थ मन्त्रालयले आज एक सूचना प्रकाशित गरी राष्ट्र बैंकबाट अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थामा ऋणको लागि आवेदन दिनसक्ने जानकारी गराएको छ । कार्यविधिअनुसार शैक्षिक प्रमाणपत्र धितो राखेर दुई प्रकारको ऋण लिन सकिनेछ । पहिलो, शिक्षित यूवा स्वरोजगार कर्जा र दोस्रो अर्को, उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जा ।

कार्यविधि अनुशार  शिक्षित यूवा स्वरोजगार कर्जा  लिन यसमा शिक्षित यूवाले प्रमाणपत्र र व्यवसाय धितोमा राखेर ऋण लिनसक्ने छन् । कम्तिमा स्नातक पास गरेकाले ऋणका लागि आवेदन दिन सक्ने व्यवस्था छ । ऋण लिने चाहनेको  उमेर ४० वर्षभन्दा कम हुनुपर्ने व्इवस्था छ । विदेशबाट शैक्षिक योग्यता हासिल गरेको हकमा भने यस्तो ऋण लिन चाहे नेपाली विश्वविद्यालयबाट समकक्षता गराउनु पर्नेछ । ऋण लिनेले घरेलु तथा साना उद्योग कार्यलय, समिति, सीप विकास तालिम केन्द्र, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्लगायत संस्थामध्ये एकबाट कम्तिमा सात दिने उद्यम व्यवसाय गर्ने तालिम लिएको समेत हुनुपर्नेछ । तालिम लिएको  प्रमाणपत्र पनि आवेदनका साथमा  पेस गर्नुपर्दछ । 

उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जा लिनका लागि माध्यामिक वा सो सरह उत्तिर्ण भएका र २५ वर्ष नकटेका यूवाले यो कर्जा लिनको लागि आवेदन दिनसक्ने छन् । उच्च शिक्षा अध्ययनका लागि यस्तो कर्जा लिन पाउनेछन् । यस्तो कर्जा लिने विपन्न, सीमान्तकृत समुदाय वा लक्षित वर्गको विद्यार्थी हुनु पर्नेछ।  उनीहरू कलेज अध्ययन गरिरहेको पनि हुन अनिर्वाय छ । यसरी कर्जाको लागि योग्यहरूले बैंक तथा वित्तीय संस्थामा आवेदन दिनु पर्नेछ। आवेदन दिँदा ऋण फाराम, नागरिकता, शैक्षिक प्रमाणपत्रको सक्कल, सीप विकास तालिमको प्रमाणपत्र चाहिन्छ । प्राविधिक शिक्षा कर्जाको लागि विपन्न, लक्षित वर्गको सिफारिस पनि राख्नु पर्ने हुन्छ । यसरी आवेदन दिएपछि बैंक तथा वित्तीय संस्थाले २१ दिनभित्र ऋण दिनुपर्नेछ । यदि ऋण दिन नमिल्ने अवस्था भए कारणसहित आवेदकलाई जानकारी दिनु पर्नेछ ।

यसरी लिएको ऋणको ब्याज सम्बन्धित बैंक तथा वित्तीय संस्थाले तोकेको हुनेछ । जसमध्ये सरकारले पाँच प्रतिशत ब्याज तिरिदिने छ । यदी बैंकले १५ प्रतिशतमा ऋण लगानी गरेको छ भने ५ प्रतिशत सरकारले तिर्नेछ भने १० प्रतिशत ब्याज ऋणीले तिरेहुन्छ । शिक्षित युवा स्वरोजगार कर्जाको सीमा  ७ लाख हुने छ भने उच्च शिक्षा अध्ययन कर्जाको सीमा ५ लाख रुपैयाँ हुने उल्लेख छ ।
 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here