सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा पप्पु कन्स्ट्रक्सनलाई नयाँ ठेक्कामा रोक

काठमाडौं, ४ मंसिर । सार्वजनिक खरिद अनुगमन कार्यालयले अबदेखि सांसद हरिनारायण रौनियारको पप्पु कन्स्ट्रक्सनलाई नयाँ ठेक्कामा सहभागी हुनबाट रोक लगाएको छ ।

सार्वजनिक खरिद अनुगमन कार्यालय, ताहाचलले मंगलबार एक सूचना जारी गरी कालोसूचीका लागि सिफरिस गरिएको पप्पु कन्स्ट्रक्सनलाई सार्वजनिक निकायका नयाँ खरिद कार्यमा सहभागी नगराइने जानकारी गराएको हो ।

कालोसूचीसम्बन्धी कारबाही प्रक्रिया टुंगो नलागेसम्म पप्पु कन्स्ट्रक्सनलाई सार्वजनिक निकायको नयाँ खरिद प्रक्रियामा भाग लिन नदिइने सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ ।

सिक्टा सिँचाइ आयोजना बाँकेले पप्पुलाई कालोसूचीमा राख्न भनी कात्तिक २६ गते पत्राचार गरेको थियो । सोही पत्राचारका आधारमा सार्वजनिक खरिद नियमावली–२०६४, अनुसार पप्पु कन्स्ट्रक्सनलाई नयाँ टेन्डर प्रक्रियामा सहभागी नगराउने निर्णय गरेको उल्लेख गरिएको छ । ‘निज निर्माण व्यवसायीलाई तत्काल अन्य खरिद कार्यको जिम्मेवारी दिँदा मुलुकलाई थप हानी नोक्सानी हुने देखिएको छ,’ सूचनामा लेखिएको छ ।

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको बाँकेको सिक्टा सिँचाइ आयोजनाले सम्झौताअनुसार काम अघि नबढाएको भन्दै कालोसूचीमा राख्न पत्र पठाएपछि सार्वजनिक खरिद अनुगमन कार्यालयले पप्पु कन्स्ट्रक्सनसँग स्पष्टीकरण लिई कालोसूचीमा राख्ने तयारी गरिरहेको छ ।
पप्पु कन्स्ट्रक्सनले निर्माणका लागि ठेक्का लिएका पाँच अर्बभन्दा बढीका आयोजनाका काम बीचमै रोकिएका छन् ।

अहिलेसम्म उसले ठेक्का लिएका कुनै पनि आयोजना पूरा भएका छैनन् । पप्पु कन्स्ट्रक्सनले सडक, पुल, सरकारी कार्यालय निर्माणको ठेक्का लिएको छ ।

पप्पु कन्स्ट्रक्सनका मालिक संघीय समाजवादी फोरमका सांसद रौनियार हुन् । आफू सांसद भएपछि उनले छोरालाई अध्यक्ष बनाएका छन् । केही समयअघि रौतहटको एक नदीमा डुंगा डुब्दा करिब ६ जनाले ज्यान गुमाएका थिए ।

सो नदीमा पुल निर्माणको जिम्मा पप्पु कन्स्ट्रक्सनले लिएको थियो । तर, समयमै पुल निर्माण नगरेको भन्दै पप्पु कन्स्ट्रक्सनविरुद्ध प्रहरीमा उजुरी परेपछि रौनियारका छोरा फरार भएका छन् । सांसद रौनियार लिम्बित अवस्थामा छन् । धेरै सरकारी आयोजना निर्माणको काम समयमै पूरा नगरेको भन्दै उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएकाले उनको सांसद पद निलम्बनमा परेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here