कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सार्वजनिक खरिद ऐनका कारण विकास निर्माणका ढिलाइ हुने गरेको बताएका छन् । मंगलबार कर्णाली प्रदेश निर्माण व्यवसायी महासंघको पहिलो अधिवेशन उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले विद्यमान कानुनका कारण पनि विकासमा अपेक्षाकृत उपलब्धि नभएको बताए । ‘हाम्रा केही कानुनहरू पनि विकासको बाधक छन्, अब ती कानुनहरू सुधार गर्दै समयसापेक्ष बनाउनुपर्छ,’ उनले भने ।
सार्वजनिक खरिद ऐनको लामो प्रक्रिया कारण विकासमा ढिलासुस्ती भएको र व्यवसायीहरू मारमा परेको उनको जिकिर थियो । कर्णालीको विकासका लागि विकासमैत्री कानुन निर्माण गरिने मुख्यमन्त्री शाहीको भनाइ थियो । आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले पनि सार्वजनिक खरिद ऐन विकासमैत्री नभएको बताए । यसलाई संशोधन गर्नुपर्ने उनको भनाइ थियो । प्रदेशको विकासमा निर्माण व्यवसायीको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै भौतिक पूर्वाधार तथा योजनामन्त्री खड्गबहादुर खत्रीले आवश्यकताअनुसार कानुन निर्माण गरिनुपर्ने बताए ।