कैलालीको शिवरत्नपुरका ७६ घरपरिवार लालपूर्जाविहीन, कैयौं सेवा सुविधाबाटसमेत वञ्चित

कैलालीको कैलारी गाउँपालिका–३ को मोहना नदी पारीको गाउँ शिवरत्नपुरका बासिन्दा आफूले भोगचलन गर्दै आएको जग्गाको लालपूर्जा पाउनबाट बञ्चित भएका छन् ।

वर्षौंअघिदेखि सीमानामा पिलर जस्तै बनेर बसेकाहरुले लालपूर्जा नपाउँदा राज्यले दिने कैयौं सेवा सुविधाबाटसमेत वञ्चित हुनुपरेको छ ।

बस्ती बसेको धेरै वर्ष बिते पनि शिवरत्नपुरका ७६ घरपरिवार लालपूर्जा विहीन छन् ।

घरजग्गा भए पनि लालपूर्जा नहुँदा राज्यबाट पाउने सेवासुविधा उपभोग गर्न नपाएको उनीहरुको गुनासो छ ।

व्यापार व्यवसाय गर्न चाहनेहरुले ऋण पाएका छैनन् । सरकारले वितरण गरेका खानेपानीका बोरिङ र सोलार नपाउँदा उनीहरु निराश छन् ।

उसै त विकट ठाउँ त्यसमा पनि राज्यबाट उपलब्ध केही सेवा सुविधा नपाउँदा स्थानीय निकै मर्कामा परेका छन् ।

विं.सं. २०३५ सालतिरबाट विभिन्न ठाउँबाट आएका सुकुम्बासीहरुको परिवारले २०४२ सालतिर गाउँकै रुप लिएको थियो ।

त्यस समयदेखि बसिरहेका उनीहरुमध्ये अधिकांशको १० कठ्ठा जमिन छ भने केही परिवारको दुई बिघासम्म रहेको छ ।

नदीपारिको गाउँमा विकासले गति लिएको तर आफूहरु सधैं सकसपूर्ण अवस्थामा रहनुपरेको हुँदा उनीहरुको मन खिन्न हुने गर्दछ ।

जनप्रतिनिधिले पनि चुनावी समयमा मात्र आश्वासन बाँडेको र लालपुर्जाका लागि पहल नगरेको उनीहरुको गुनासो छ ।

उसो त सुकुम्बासी आयोगमार्फत् लालपूर्जा पाउने भनेर उनीहरुले फारम पनि भरिसकेका छन् ।

उता, गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले आफूहरुलाई लालपूर्जा वितरण गर्ने अधिकार नभएकाले प्रदेश सरकारले ऐन बनाएर अधिकार दिएपछि आफूहरुले छिट्टै पहल गर्ने आश्वासन दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here