नेपालको प्रमुख प्रवेशद्वार वीरगंज मा रहेको शङ्कराचार्य गेटमा वीरगंज महानगरपालिकाले भगवान् पशुपतिनाथ स्वरूपको पञ्चमुखी शिवलिङ्ग स्थापना गरेको छ । शङ्कराचार्य गेटको सौन्दयीकरण गर्ने योजनालाई मूर्तरूप दिन शिवलिङ्ग स्थापना गरिएको बताइएको छ । वैदिक मन्त्र वाचन गरी विधिवत् पूजा अर्चना गरी प्रमुख प्रशासकीय अधिकृत डा भीष्मकुमार भुसालले शिवलिङ्गको प्राणप्रतिष्ठा गरेका थिए ।
प्राणप्रतिष्ठापछि मेयर विजयकुमार सरावगी र नेपाल भारत सहयोग मञ्चका अध्यक्ष अशोक बैदले संयुक्तरूपमा शिवलिङ्गको अनावरण गरेका थिए । उक्त शिवलिङ्ग रु ३ लाख २१ हजारमा शालिमार होम्स प्रालिको सहयोगमा प्राप्त भएको हो । सो अवसरमा प्रमुख प्रशासकीय अधिकृत डा भुसालले संरक्षणको अभावमा जीर्ण बन्दै गएको शङ्कराचार्य गेटको सौन्दर्यीकरण गर्दै महानगरपालिकाले पर्यटकीय स्थल बनाउने योजना रहेको बताए ।
मेयर सरावगीले चाँडै शिवलिङ्गमा फाउन्टेनबत्ती र पानीको फोहरा निर्माण गरिने बताए ।