प्रदेश-२ मा एसईईका बाँकी सबै विषयका परीक्षा स्थगित

काठमाडौं-  राष्ट्रिय परिक्षा बोर्डले प्रदेश-२ मा एसईईका बाँकी सबै विषयको परिक्षा स्थगित गरेको छ। परिक्षा अघि नै विज्ञान र सामाजिक विषयको प्रश्नपत्र बाहिरिएपछि बोर्डले प्रदेशभरकै परिक्षा स्थगित गरेको हो।

शुक्रबार साँझ शिक्षा मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री गिरिराजमणि पोखरेलले अति सुरक्षित रहने प्रश्न पत्र बाहिरिनु गम्भिर भएको भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो-सीआईबीले अनुसन्धान थालिसकेको जानकारी दिए।

‘ यो अप्रिय घटनालाई हामीले आपराधिक घटनाका रुपमा लिएका छौँ। यसमा संलग्न जो कोही भएपनि कानुनको दायरामा ल्याउन प्रतिबद्ध छौं’, मन्त्री पोखरेलले भने।  बिहीबार विज्ञान विषयको परिक्षा भएपनि  प्रश्न पत्र बाहिरिएको सार्वजनिक भएपछि रद्ध गरिएको थियो।

शुक्रबार हुने भनिएको सामाजिक विषयको पनि प्रश्न पत्र बाहिरिएको सार्वजनिक भएपछि त्यस विषयको भने परिक्षा नै नभई स्थगित भएको थियो।

विज्ञान विषयको परिक्षा आगामी चैत २२ गते हुने र बाँकी विषयको परिक्षाको तालिका यसै महिनाभित्र सार्वजनिक गरिने मन्त्रालयले जनाएको छ। प्रदेश-२ मा परिक्षा स्थगित भएपनि बाँकी प्रदेशमा परिक्षा सुचारु हुने र प्रश्नपत्रको सुरक्षाका लागि सबै जिल्ला समन्वय समितीलाई निर्देशन दिईसकेको मन्त्रालयले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here