प्रदेश २ मा जारी माध्यमिक शिक्षा परीक्षा एसईई बीचमै स्थगित गरिएपछि साढे ७० हजार विद्यार्थी प्रभावित भएका छन्।
लगातार प्रश्नपत्र एकपछि अर्काे बाहिरिएपछि शिक्षा मन्त्रालयले बाँकी आज (चैत १६) देखि २१ गतेसम्म हुने परीक्षा स्थगित गर्ने निर्णय गरेको हो।
परीक्षाको चौथो दिन बिहीबार हुने विज्ञान विषयको प्रश्नपत्र परीक्षा अगावै बाहिरिएको थियो भने हिजो शुक्रबार हुनुपर्ने सामाजिक विषयको पनि प्रश्नपत्र पनि बिहीबार रातिदेखि नै सामाजिक सञ्जालहरूमा छ्याप्छ्याप्ती भएको थियो।
यसरी एकपछि अर्काे प्रश्नपत्र बाहिरिने क्रम बढेपछि शिक्षा मन्त्रालयले बाँकी परीक्षा रोकेको हो। परीक्षा रोकिँदा प्रदेश २ बाट एसईईमा सहभागी ७० हजार ५ सय ६८ विद्यार्थी प्रभावित भएका हुन्।
त्यस दिन रद्ध गरिएको विज्ञान विषयको परीक्षा भने पहिलेकै निर्णयअनुसार चैत २२ गते सञ्चालन गरिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ। बाँकी विषयका परीक्षा भने तत्काललाई स्थगित गरिएको हो।
चैत १० गते सुरु भएको परीक्षाअन्तर्गत तेस्रो दिनसम्म दिएको परीक्षा रद्द नहुने परीक्षा नियन्त्रण कार्यालयका नियन्त्रक विष्णु अधिकारीले जनाएका छन्। बाँकी विषयका परीक्षा चैतभित्रै गरिने उनले बताएका छन्।