जनकपुर , २२ पुस । धनुषाको जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशोर साहको कार्यालयमा दर्जन बढी पत्रकारमाथि कुटपिट भएको छ ।
मेयर साहकै नेतृत्वमा पत्रकार महासंघ धनुषाका अध्यक्ष अनिल मिश्र, देशसञ्चार डटकमका संवाददाता राजा झा, कान्तिपुर दैनिकका संवाददाता अमरकान्त ठाकुरसहित एक दर्जन पत्रकारमाथि कुटपिट गरिएको हो । मेयर र उनका सहयोगीहरूले पत्रकारमाथि हेल्मेटले आक्रमण गरेको जनाइएको छ । कुटपिटबाट ठाकुरलाई चोट लागेको छ ।
‘जग्गा अतिक्रमणको विषयमा हामी मेयरको भनाई लिन उहाँको चेम्बरमा गएका थियौं, अचानक आक्रमण भयो, हेल्मेटले चोट लागेको छ’, पत्रकार राजा झाले भने । जानकी मन्दिरको जग्गा अतिक्रमणमा परेको उजुरीबारे पत्रकारले सोध्दा साहका सहयोगी पत्रकारमाथि जाई लागेका थिए ।
पत्रकार ठाकुर एपी वान टेलिभिजनका विकास साहसहितका पत्रकारहरू मेयर साहको धारणा लिन पुगेका थिए । बाइट लिन खोज्दा साहले मिडिया आंतक बढेको भनेपछि भनाभन भएको थियो । त्यसपछि मेयर साहका सहयोगीले कार्यकक्षमै पत्रकारमाथि कुटपिट गरेका थिए ।
सोमबार भएको जानकी मन्दिरको जग्गा नापीमा ४ फिट ५ ईन्च जग्गा अतिक्रमण भएको ठहर भएको छ । निजी घरलाई बचाएर जानकी मन्दिरको फूलबारी भत्काएको आरोप मेयर साह उपर लगाइएको छ ।