जनकपुरस्थित प्रादेशिक अस्पतालमा खतरनाक कोरोना भाइरस लागेको आशंकामा भर्ना दुई बिरामीको रिपोर्ट ‘नेगेटिभ’ आएको छ।
भारतको जयपुर अम्बालाबाट फर्केर अस्पतालमा भर्ना भएका धनुषाका एक र जनकपुरका एक बिरामीको रिपोर्ट ‘नेगेटिभ’ आएको हो। ‘स्वाब’ टेस्टको रिपोर्ट ‘नेगेटिभ’ आएको अर्थात कोरोना संक्रमित नभएको पुष्टि भएपछि दुवै जनालाई डिस्चार्ज गरिएको अस्पतालका वरिष्ठ जनरल फिजिसियन डा. कुलदिप पण्डितले जानकारी दिए।
उनका अनुसार ज्वरो र रुघाखोकी लागेपछि उनी दुवै जना अस्पताल भर्ना भएका थिए। दुवै जनाको स्वाब परीक्षणका लागि आइतबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, काठमाण्डौं पठाएको थियो।
हाल प्रादेशिक अस्पतालमा बनाइएको आइसोलेसन वार्डमा कोरोनाका शंकास्पद बिरामीलाई भर्ना गरी ‘स्वाब’ परीक्षणका लागि काठमाडौं पठाउने गरिएको छ। आज मात्र ४ जना कोरोना संक्रमित शंकास्पद बिरामी भर्ना भएका छन्। उनीहरूको पनि ‘स्वाब’ परीक्षणका लागि काठमाडौं पठाउने तयारी भइरहेको छ।