तीन जना भारतीयमा कोरोना पुष्टि, नारायणी अस्पतालको आइसोलेसनमा उपचार हुँदै

काठमाडौं- वीरगञ्जमा रहेका तीन जना भारतीय नागरिकलाई कोरोना भाइरसको संक्रमण देखिएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उनीहरु केही दिनअघि मात्र भारतबाट नेपाल आएका थिए। तीन जनामध्य एक जना दिल्ली र २ जना उत्तर प्रदेशबाट नेपाल आएका हुन्।

कोरोना संक्रमण पुष्टि भएपछि उनीहरुलाई वीरगञ्जस्थित नारायणी अस्पतालको आइसोलेसनमा राखेर उपचार भइरहेको छ। 

भारतबाट आएका उनीहरु वीरगञ्ज–२ छपकैया स्थित जामे मस्जिदमा बस्दै आएका थिए। उनीहरुको त्यहीँबाट नमूना परीक्षण गरिएको हो। उनीहरुसँगै २४ जना वीरगञ्ज आएका थिए। २४ जनामध्ये ३ जनामा कोरोना संक्रमण देखिएको हो।

उनीहरुको नमूना परीक्षणका लागि सुरुमा हेटौंडास्थित किटजन्य रोग अनुसन्धान तालिम केन्द्रमा रहेको प्रयोगशालामा पठाइएको थियो। उक्त प्रयोगशालामा रिपोर्ट पोजेटिभ देखिएपछि थप स्पष्टका लागि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो।

जनस्वास्थ्य प्रयोगशालामा पनि उनीहरुको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ।

योसँगै नेपालमा नै कोरोना भाइरस संक्रमण देखिनेको संख्या १२ पुगेको छ। जसमध्ये एक जना निको भइसकेका छन् भने अहिले देखिएका तीन जना भारतीय नागरिक हुन्।

नेपालमा सबैभन्दा पहिला गत माघ १० गते एक जना विद्यार्थीमा कोरोना भाइरस देखिएको थियो। उनी चीनबाट फर्किएका विद्यार्थी हुन्। उनी उपचारपछि निको भइसकेका छन्।

त्यसपछि चैत १० गते दोस्रो संक्रमित फेला परेको हो। उनी चैत २ गते कतार एयरबाट नेपाल आएकी युवती हुन्। उनको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ।

चैत १२ गते तेस्रो संक्रमित भेटिएको थियो। उनी युनाइटेड अरब इमिरेट्स (युएई) बाट आएका धादिङका ३२ वर्षीय नेपाली पुरुष हुन्। उनी पनि टेकु अस्पतालमा उपचारत छन्। चैत ६ गते नेपाल फर्किएका उनी चैत १० गते अस्पताल भर्ना भएका थिए। 

उनी चैत १० गते सोमबार अस्पताल भर्ना भएपनि मंगलबार राति रिपोर्ट आएको थियो र १२ गते बुधबार दिउँसो सार्वजनिक गरिएको थियो। उनी एयर अरबियाको फ्लाइट नम्बर जि ९५३७ बाट युएईको सारजहाँ विमानस्थलबाट नेपाल आएको मन्त्रालयले जनाएको छ।

त्यसको दुई दिनपछि १४ गते चौथो संक्रमित भेटिए। उनी धनगढीका ३४ वर्षीय पुरुष हुन्। मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार ती व्यक्ति चैत ११ गते सेती प्रादेशिक अस्पतालमा भर्ना भएका थिए। ती युवक संयुक्त अरब इमिरेट्स दुबईबाट नेपाल फर्किएका हुन्।

पाँचौ संक्रमित त्यसको भोलिपल्टै भेटिएका थिए। १९ वर्षकी युवतीमा संक्रमण भेटिएको हो। बागलुङकी संक्रमित युवती पनि कतार एयरको क्युआर ६५२ को फ्लाइटबाट नेपाल आएकी हुन्। 

चैत २० गते बागलुङकी एक महिलामा पनि कोरोना देखिएको थियो। 

चैत २२ गते एकैपटक सुदूरपश्चिममा तीन जना नेपालीमा कोरोना संक्रमण भेटिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here